काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम)को तेस्रो साधारणसभा सम्पन्न भएको छ । नेपालमा अमेरिकी लगानी भित्र्याउने र दुई देशबीच व्यावसायिक सम्बन्ध स्थापना गर्ने उद्देश्यले स्थापना भएको एमच्यामको साधारणसभामा पछिल्लो एक वर्षको समीक्षासहित भावी कार्ययोजना समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा युएस च्याम्बर अफ कमर्स, दक्षिण एसियाका कार्यकारी निर्देशक सिद्धान्त मेहराले नेपालमा स्थापनाको छोटो समयमा एमच्यामले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । एमच्यामका अध्यक्ष निर्मलकाजी श्रेष्ठले सन् २०२४ एमच्यामका लागि महत्वपूर्ण वर्ष भएको उल्लेख गर्दै नेपालमा लगानीका नयाँ अवसर सृजना गर्न, नेपाल र अमेरिकाको व्यापारिक सम्बन्ध थप बलियो बनाउने उद्देश्यका साथ क्रियाशील रहेको बताए । एमच्यामले नेपालमा विदेशी लगानीका लागि देखिएका समस्या समाधानका विभिन्न विषयमा पैरवी गर्दै आएको श्रेष्ठले उल्लेख गरे ।
कार्यक्रममा पछिल्लो एक वर्षमा एमच्यामले विभिन्न ५८ पटक औपचारिकरूपमा सदस्यको हितमा पैरवी गरेको जनाएको छ । यसबीचमा २० वटा उच्चस्तरीय भेटघाट, विभिन्न विषयमा ६० वटा आलेखमार्फत पैरवीलाई अघि बढाएको जनाएको छ । यसबीचमा एमच्यामले कोषमा ३१ दशमलव पाँच लाख रुपैयाँ जम्मा भएको उल्लेख गरेको छ । यस्तै, एमच्यामले पछिल्लो एक वर्षमा १६ वटा नयाँ सदस्य थप गरेको छ । सन् २०२३ मा ३८ वटा सदस्य रहेकामा अहिले उक्त संख्या बढेर ५४ पुगेको हो । नेपालमा लगानीमैत्री वातावरण बनाउनका लागि सरोकारवाला पक्षसँग विभिन्न समयमा छलफल, अन्तरक्रिया तथा बहस गर्दै आएको एमच्यामका महाप्रबन्धक अमिरराज थापाले जानकारी दिए ।
एमच्यामले वर्षभर नै विभिन्न औपचारिक र अनौपचारिक कार्यक्रममार्फत सक्रियता जारी राखेको जनाएको छ । एमच्यामले यस अवधिमा युएसएड, विश्व बैंक, युरोपियन युनियन, एसियाली विकास बैंकका साथै सरकार र निजी क्षेत्रलाई एकै थलोमा ल्याउन सफल भएको उल्लेख गरेको छ । साथै, अमेरिकी लगानी भएका कम्पनीहरूलाई नेपालमा प्रवद्र्धनका लागि सहजीकरणको भूमिका समेत निर्वाह गरेको उल्लेख गरेको छ । यस्तै, ट्रेड नीतिसम्बन्धी अनुसन्धान, ट्रान्सफर प्राइसिङलगायतका विषयमा समेत काम गरिरहेको जनाएको छ ।
एमच्यामले आफ्ना सदस्यहरूबीच सम्बन्ध सुदृढीकरण र आन्तरिक सञ्जाल विस्तारका लागि लर्निङ सिरिजलाई निरन्तरता दिएको छ । यसबीचमा एमच्यामले नेपाल उद्योग परिसंघ (सीएनआई) र द नेपाल प्राइभेट इक्विटी एसोसिएसनसँग पनि सम्झौता गरेको छ । साथै, अमेरिकाको व्यापार विभागको द इन्टरनेसनल ट्रेड एड्मिनिस्ट्रेसन पनि एमओयु गरेको एमच्यामले जनाएको छ ।