काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयरको बिक्री खुला भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।
यसरी बिक्री खुला गरिएको कुल सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी, सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता साधारण सेयरको बिक्री खुला भएको हो ।
कम्पनीले इक्रा नेपालबाट बीबी माइनस रेटिङ प्राप्त गरेको छ । यसले कम्पनी आफ्नो दायित्व पूरा गर्न मध्यमस्तरको जनाउँछ । न्यूनतम १० कित्ता तथा अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक कुमारी क्यापिटलले सूचनामार्फत जनाएको छ । इच्छुकले अनलाइन प्रणाली मेरोसेयरमार्फत आइतबार १० बजेपछि आवेदन दिन सक्नेछन् । पुस २४ गतेसम्म यसमा आवेदन दिन सकिनेछ ।
आव २०८०/८१ सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ एक सय रुपैयाँ ५९ पैसा छ भने प्रतिसेयर आम्दानी २५ पैसा छ । २७ लाख ५० हजार रुपैयाँ सञ्चित नाफा रहेको कम्पनीले जानकारी दिएको छ ।