काठमाडौं । नेपाल डिस्टिलरिज प्रालि (एनडीपीएल) दिगो कृषिको प्रवर्द्धनमा लागेको छ । कम्पनीले किसानहरूलाई क्षमता अभिवृद्धि तालिम कार्यक्रममार्फत् कृषि प्रवद्र्धनमा सघाउँदै आएको छ । गरिबी न्यूनीकरण र आर्थिक वृद्धिमा कृषिको महत्वपूर्ण भूमिकालाई आत्मसात गर्दै कम्पनीले हालै विराटनगर र सर्लाहीको लालबन्दीमा सीमान्तकृत उखु किसानहरूलाई क्षमता अभिवृद्धि तालिम कार्यक्रम आयोजना गरेको थियो । किसानहरूलाई उत्पादकत्व र लचिलोपन सुधार गर्न दिगो कृषि प्रविधिहरूको ज्ञानको विकास गर्ने उद्देश्यले कम्पनीले सो तालिम आयोजना गरेको हो । विराटनगरमा सञ्चालित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, कोशी प्रदेश योजना आयोगका सदस्य, विराटनगर महानगरपालिकाका मेयरलगायत स्थानीय नेता तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति भएको थियो । त्यसैगरी लालबन्दीमा भएको कार्यक्रममा लालबन्दी नगरपालिकाका मेयरलगायत स्थानीय नेता तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति भएको थियो ।
कार्यक्रममा सहभागीहरूले स्थानीय कृषकहरूका समस्या तथा चुनौतीहरू सामना गर्न आवश्यक सहयोग एवं यस प्रकारका क्षमता अभिवृद्धि तालिम प्रभावकारी हुनेतर्फ जोड दिएका थिए । कार्यक्रममा किसानहरूले आफ्नो कृषि प्रविधिलाई सुधार गर्ने अवसरको रूपमा लिँदै सक्रियरूपमा सहभागिता जनाएका थिए । तालिममा सहभागी ८० जना कृषकहरूले कृषि उत्पादकत्व र लचिलोपन सुधार गर्न आवश्यक सिप र ज्ञान हासिल गर्ने अपेक्षा राखिएको छ । यस कार्यक्रमले दिगो खाद्य उत्पादन प्रणाली र लचिलो कृषि प्रविधिहरूमा जोड दिँदै किसानहरूलाई वातावरणीय रूपमा स्वस्थ र जलवायुमैत्री अभ्यासहरू अपनाउन सशक्त बनाएको थियो । यस पहलले एनडीपीएलको स्थानीय समुदायहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन र दिगो विकासप्रतिको प्रतिबद्धताबारे चेतना बढाउन भूमिका खेल्ने विश्वास गरिएको छ ।
कार्यक्रममार्फत् एनडीपीएलले सुधारिएको कृषि अभ्यासलाई प्रवद्र्धन गर्ने, आय वृद्धि गर्ने र सामुदायिक लचिलोपनलाई सुदृढ बनाउने लक्ष्य राखेको छ । थप उत्पादनशील र दिगो कृषि प्रणालीहरू निर्माण गरेर एनडीपीएलले हरेक किसानहरूको जीविकोपार्जनमा योगदान दिँदै दीर्घकालीन खाद्य सुरक्षाको क्षेत्रसँगै नेपालका केही कमजोर समुदायहरूमा गरिबी न्यूनीकरणमा समेत योगदान दिइरहेको जनाएको छ ।