काठमाडौं । गणतन्त्र कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष नेपालका राजदूत डा. शिवमाया तुम्बाहाम्फेले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् । मङ्गलबार सियोलमा आयोजित एक समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् ।
राजदूत तुम्बाहाम्फेले प्रमाणपत्र पेस गरेपछि कार्यवाहक राष्ट्रपति चोइसँग शिष्टाचार भेट गरेको सियोलस्थित नेपाली राजदूतावासले जनाएको छ । त्यस अवसरमा उनले नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको सन्दर्भमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्वपूर्ण हुने बताउँदै आगामी मेसम्ममा त्यस्ता भ्रमणका निम्ति सहजीकरण गर्न दूतावासलाई अवसर मिल्ने विश्वास व्यक्त गरिन ।
राजदूत तुम्बाहाम्फेले गणतन्त्र कोरियामा रहेका एक लाखभन्दा बढी नेपाली कामदारले दुई देशबीच जनस्तरको सम्बन्धलाई प्रवर्द्धनका साथै कोरियाको अर्थतन्त्रमा योगदान गरेको बताइन् । उनले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउन इमान्दार भएर लाग्ने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले नेपाल सरकार र आफ्नो तर्फबाट कार्यवाहक राष्ट्रपतिमार्फत २९ डिसेम्बरमा गणतन्त्र कोरियामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारप्रति गहिरो समवेदना व्यक्त गरिन ।