काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूमा वित्तीय जोखिम थप गहिरिँदै गएको छ । नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा पाँच प्रतिशतसम्म हुनुलाई नराम्रो मानिँदैन । तर, एक दर्जन यस्ता लघुवित्त छन् जसको निष्क्रिय कर्जा पाँच प्रतिशतभन्दा धेरै छ ।
लघुवित्त वित्तीय संस्थाहरूले ग्रामीण तथा सहरी क्षेत्रका निम्न आय भएका विपन्न वर्गमा स–सानो परिमाणमा कर्जा प्रवाह गर्दै आएका छन् । सानो परिमाणमा कर्जा प्रवाह गर्दा वित्तीय जोखिम कम हुने भए पनि पछिल्लो समय अर्थतन्त्र सुस्त हुँदा ऋण लिएका ग्राहकहरूले साँवाब्याज तिर्न सकेका छैनन् । यही कारण लघुवित्तहरूको स्थिति खराब बन्दै गएको छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा १४ दशमलव ४२ प्रतिशत छ । गत वर्ष पहिलो त्रैमासमा आत्मनिर्भरको निष्क्रिय कर्जा आठ दशमलव ५३ प्रतिशत थियो । नाडेप लघुवित्त वित्तीय संंस्थाको निष्क्रिय कर्जा गत कात्तिक मसान्तसम्म १० दशमलव ६१ प्रतिशत छ । जुन एक वर्षअघि छ दशमलव ५६ प्रतिशत थियो ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा १५ दशमलव ७९ प्रतिशत पुगेको छ । जुन एक वर्षअघि १० दशमलव ८२ प्रतिशत थियो । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा १६ दशमलव १४ प्रतिशत छ । एक वर्षअघि नेरुडेको निष्क्रिय कर्जा पाँच दशमलव ५२ प्रतिशत थियो । इन्फिनिटी, स्वालम्बन र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा क्रमशः ११ दशमलव ३५ प्रतिशत, १० दशमलव ९७ प्रतिशत र १३ दशमलव ३० प्रतिशत छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा क्रमशः चार दशमलव ८५ प्रतिशत, १२ दशमलव ४१ प्रतिशत र १४ दशमलव ८८ प्रतिशत थियो । निर्धन उत्थान, एनआईसी एसिया र मातृभूमि लघुवित्त वित्तीय सस्थाको निष्क्रिय कर्जा क्रमशः १० दशमलव १६ प्रतिशत, १८ दशमलव ६८ प्रतिशत र १२ दशमलव ४० प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यी संस्थाहरूको निष्क्रिय कर्जा क्रमशः १२ दशमलव ३५ प्रतिशत, ११ दशमलव २२ प्रतिशत र आठ दशमलव ५५ प्रतिशत थियो ।