लस एन्जलस । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस नजिकैको तीन जंगलमा मंगलबारदेखि भीषण आगलागी भएको छ । आगो पहिले प्यासिफिक पालिसेड्स, इटन र हस्र्टको जंगलमा लागेको थियो । त्यसपछि आवासीय क्षेत्रमा पनि फैलिएको छ ।
प्यासिफिक पालिसेड्सले सबैभन्दा बढी क्षति बेहोरेको छ । त्यहाँ डेढ दिनमा तीन हजार एकड जमिनमा आगलागी फैलिएको छ । आगलागीका कारण ३० हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् । रिपोर्टका अनुसार प्यासिफिक पालिसेड्समा भएको आगलागीले एक मिनेटमा पाँच फुटबल मैदानबराबरको क्षेत्र जलाएर खरानी बनाइदिएको छ ।
लस एन्जलस प्रशासनले सम्पूर्ण सहरमा आपतकाल घोषणा गरेको छ । यो अमेरिकाको सबैभन्दा बढी जनसंख्या भएको काउन्टी हो । त्यहाँ एक करोड मानिस बस्छन् । जंगलमा फैलिएको आगोका कारण त्यहाँका करिब ५० हजार मानिसलाई तत्काल घर छाड्न भनिएको छ ।
क्यालिफोर्निया प्रशासनले सर्वसाधारणलाई प्रभावित क्षेत्रमा नजान सल्लाह दिएको छ । यसैबीच राष्ट्रपति जो बाइडेनले आर्थिक सहयोगको घोषणा गरेका छन् ।
बुधबार डढेलोले दर्जनौँ घर नष्ट गर्दा लस एन्जलसको उपनगरीय क्षेत्रबाट दशौँ हजार मानिस आफ्नो घरबाट भागेका छन् । अमेरिकी मिडियाका अनुसार आगो निभाउने क्रममा कम्तीमा एक दमकलकर्मी घाइते भएका छन र केही अन्य मानिस जलेको खबर आएको छ ।
भयानक हावाले आगोलाई फौलाउँदै रातो–रातो झिल्काहरुलाई सयौँ मिटर टाढासम्म उडाउँदै असहाय दमकलकर्मीहरुले निभाउन नसक्ने गरी नयाँ स्थानहरुमा आगो सल्किँदै गएकोे छ ।