काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बिहीबार काठमाडौंमा आयोजित शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) को साक्षात्कारमा कानुनी व्यवस्था परिवर्तन गरेरै भए पनि त्रिभुवन विश्वविद्यालयको सुधार गर्ने बताइन् । उनले अरु विश्वविद्यालयहरु सुधान गर्नु भन्दा पहिले त्रिभुवन विश्वविद्यालयको सुधार गर्नुपर्ने आवश्यक रहेको औंल्याइन् ।
उनले राजनीतिले मात्र पद निर्माण गर्छ भन्ने विचारको विकास गरिएका कारण राजनीतिक हिसावले नजोडिए पदीय जिम्मेवारी सम्हाल्न नसक्ने विश्वविद्यालयका पदाधिकारीहरुको बुझाइ रहेको बताइन् । विश्वविद्यालयका पदाधिकारीहरु राजनीतिक विचारसँग आबद्ध भएकाले नेतृत्वदायी भूमिका खेल्न नसकेको उनको बुझाइ छ ।
आफू मन्त्री भइसकेपछि विश्वविद्यालयको सुधारका लागि आयोगसँग पटक पटक छलफल राखेको बताउदै मन्त्री भट्टराईले विश्वविद्यालयको सुधारका लागि सबैको सहयोग र सहकार्यको आवश्यकता रहेको जानकारी दिइन् । उनले अनुदान आयोगलाई विश्वविद्यालयसँग सम्पर्क र समन्वय गर्ने संस्थाको रुपमा विकास गरेको दाबी गरिन् ।