काठमाडौं । सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपालले बिहीबार धुलिखेलमा आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले काभ्रेपलाञ्चोकका बाढीपीडित गर्भवती तथा सुत्केरीलाई राहतस्वरुप कम्बल (ब्लाङ्केट) वितरण गरेकी छिन् । मन्त्री डा. राणाले महासङ्घका तर्फबाट उपलब्ध गराइएका एक हजार ९० कम्म्बल जिल्लाका ६ वटा पालिकाका गर्भवती तथा सुत्केरीलाई हस्तान्तरण गरेकी हुन् ।
काभ्रेपलाञ्चोकका रोशी खोला, बेथानचोकलगायतका कैयौँ क्षेत्रमा यसै वर्षको भारी वर्षाका कारण व्यापक मात्रामा क्षति पुगेको थियो । स्थानीय जनप्रतिनिधिमार्फत बाढीले घर बस्ती बगाउँदा अप्ठ्यारोमा परेका गर्भवती र तीन महिनासम्मका सुत्केरीका लागि उक्त राहत उपलब्ध गराइएको हो ।
नेपाल जलवायु परिवर्तनको चपेटामा परिरहेको र यस वर्षको अकल्पनीय वर्षा र बाढी पनि त्यसैको प्रतिफल भएको बताउदै मन्त्री डा. राणाले अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग र राहत उपलब्ध गराउने विषयमा सरकारले काम गरिरहेको जानकारी दिइन् ।
उनले आगामी दिनमा यस्ता सम्भावित जोखिमको सामना गर्नुपर्ने अवस्थामा नेपाल रहेको विषयमा आफूले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमार्फत विश्वको ध्यानाकर्षण गराइरहेको उल्लेख गरिन । मुलुकको जनसङ्ख्यामा आधाभन्दा बढी महिला रहेका तर उनीहरूका लागि अवसर भने निकै कम रहेको उल्लेख गर्दै मन्त्री डा. राणाले सुरक्षित मातृत्वको पहिलो दायित्व घर र समाजको भएको बताइन्।