चितवन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रमा लगानीमैत्री वातावरण बनेकाले ढुक्कसँग लगानी गर्न आग्रह गरेका छन् । १५औँ चितवन महोत्सवको बिहीबार उद्घाटन गर्दै उनले लगानीका लागि कानुनमा रहेका समस्या समाधान गरिएको बताए ।
‘सरकारले लगानी भित्र्याउन आवश्यक वातावरण बनाएको छ । ढुक्क भएर लगानी गर्दा हुन्छ’ उनले भने । विगतमा लगानी सम्मेलन भए पनि अपेक्षाकृत लगानी भित्र्याउन नसकिएको बताउँदै उनले आगामी लगानी सम्मेलनबाट उपलब्धि हासिल हुन सक्ने बताए । नीतिगत समस्या समाधान गरी अघि बढ्न सरकारले काम गरिरहेको उनको भनाइ थियो । यस्तै, उनले विभिन्न समयमा हुने यस्ता मेला महोत्सवले देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताए । कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्ण सिलवालले उद्योगीको हकहितका लागि काम गर्न तयार रहेको बताए । उद्योगीको समस्या समाधान गर्न प्रदेश सरकारले सहुलियतमा ऋण प्रदान गर्न बजेटबाट समेत सम्बोधन गरेको उनले जानकारी दिए ।
सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निजी क्षेत्रसँग सहकार्य गरेर गरिएका हरेक कार्यक्रम प्रभावकारी हुने गरेको उल्लेख गर्दै यस्ता मेला महोत्सवले जिल्लाको मात्रै नभएर समग्र देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताइन् । महोत्सव उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको हो । महोत्सवका संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले आगामी माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख बढी दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको जानकारी दिए । महोत्सवमा चार सय ३० वटा प्रदर्शनी कक्ष राखिएका छन् । महोत्सवमा चीनको छुट्टै प्रदर्शनी कक्ष रहेको छ ।