भोजपुर । बजार मूल्यभन्दा सस्तोमा खाद्य गोदामबाट सुपथ मूल्यमा चामल वितरण सुरु भएसँगै यहाँका नागरिकलाई सहज भएको छ । आर्थिक अवस्था कमजोर भएका तथा विपन्न नागरिकलाई सस्तोमा चामल वितरण गरिएपछि राहत मिलेको हो ।
जिल्लास्थित व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख सन्तोषकुमार शाहले गत असोज ७ गतेदेखि आगामी माघ २ गतेसम्म स्थानीय नागरिकलाई प्रतिकिलो रु. पाँच छुटमा चामल वितरण भइरहेको जानकारी दिए । गोदामबाट अहिले २५ किलो स्टिमजिरा मसिनो चामल रु. दुई हजार एक सय २५ र अरुवा सोना मन्सुली चामल प्रतिबोरा रु. एक हजार पाँच सयमा बिक्री भइरहेको छ ।
प्रमुख शाहले विगतका वर्षभन्दा यस वर्ष स्थानीयको मागलाई पूर्ति गर्न चामलको मात्रा बढाइएको बताए । गत वर्षसम्म यहाँ वार्षिक रूपमा एक हजार क्विन्टल चामल आउने गरेकामा एक हजार पाँच सय क्विन्टल पुर्याइएको उनले जानकारी दिए ।
आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकतामा राखेर स्थानीयको मागअनुसार चामलका साथै गोदामबाट चिनी पनि वितरण थालिएको प्रमुख शाहले बताए । गोदाममा अहिले स्थानीयलाई वितरणका लागि १० क्विन्टल चिनी मौज्दात रहेको उल्लेख गर्दै । प्रमुख शाहले कार्यालयबाट खाद्यसामग्री वितरणले नागरिकलाई राहतसँगै बजार मूल्यलाई सन्तुलनमा राख्न भूमिका निर्वाह गर्ने विश्वास लिइएको बताए ।
सार्वजनिक बिदाका दिनबाहेक कार्यालयबाट अन्य समयमा नियमित रूपमा चामल वितरण भइरहेको प्रमुख शाहले जानकारी दिए । सदरमुकाम बाहिरका स्थानीयका लागि हतुवागढी गाउँपालिकामा बन्द अवस्था रहेको खाद्य डिपोलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए ।
सदरमुकाममा आउने चामलको मात्रालाई पाँच हजार क्विन्टल र घोडेटार डिपोमा तीन हजार क्विन्टल पुर्याउने लक्ष्य रहेको कार्यालयले जनाएको छ । घोडेटारस्थित खाद्य डिपो १० वर्षे सशस्त्र द्वन्द्वकालमा चामल लुटिएपछि बन्द भएको थियो । पछिल्लो छ महिनाको अवधिमा करिब एक हजार दुई सय क्विन्टल चामल स्थानीयले खपत गरेका कार्यालयले जनाएको छ ।