काठमाडौं । महिला सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८०।८१ को नाफाबाट सेयरधनी सदस्यहरूलाई चुक्तापुँजीको १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । यही पुस २४ गते बुधबार बसेको २९औँं वार्षिक साधारणसभाले उक्त घोषणा गरेको हो ।
यस संस्थाले आर्थिक वर्ष २०८०/८१ मा २८ करोड २७ लाख ३८ हजार कुल आम्दानी र २३ करोड ७७ लाख ३ हजार कुल खर्च गरी ४ करोड ५० लाख ३४ हजार सञ्चालन नाफा आर्जन गरेको छ । सो नाफाबाट संस्थाले यस वर्ष आय करबापत ८५ लाख दुई हजार नेपाल सरकारलाई बुझाएको छ । संस्थाले प्रस्तुत आर्थिक वर्ष २०८०÷८१ मा एक अर्ब २३ करोड सात लाख ३४ हजार निक्षेप संकलन गरी एक अर्ब ६१ करोड ६९ लाख १८ हजार कर्जा लगानी गरेको छ ।
यस संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सात जना सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिका तीन जना सदस्यको निर्वाचनको लागि मिति २०८१ नौ सय ११ मा परेको उम्मेदवार उपर कोही कसैको उजुरी नपरेको र उम्मेदवारी दर्ता गर्ने उम्मेदवारमध्ये कसैले पनि आफ्नो उम्मेदवारी फिर्ता नलिएको हुँदा पूर्ति गर्नुपर्ने संस्थाको सञ्चालक पदमा इल्या भट्टराई, सरस्वती श्रेष्ठ, माधुरी सैजू, उर्मिला डंगोल, अनिता श्रेष्ठ, सुशीला कंसाकार दली र सरला केसी निर्विरोध निर्वाचित भएका छन् । यसैगरी लेखा सुपरीवेक्षण समितिमा दुई जनाको मात्र उम्मेदवारी परेकाले पूर्ण लक्ष्मी मानन्धर र कलश कार्की निर्विरोध निर्वाचित भएका छन् ।