काठमाडौं । कुमारी बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानीका लागि सहकार्य भएको छ । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँगको साझेदारीमा अलीपे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरूका लागि नेपाल पे क्युआरमार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको हो । यो सेवामार्फत अलि पे प्लस प्रयोगकर्ताले कुमारी बैंकको नेपाल पे क्युआर रहेका व्यवसायहरूमा सहज र सुरक्षितरूपमा भुक्तानी गर्न सक्नेछन् ।
अली पे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरूलाई लक्षित गर्दै यो सेवा सुरक्षित र सहज क्रस–बोर्डर भुक्तानीको रूपमा स्थापित हुने विश्वास बैंकले लिएको छ । यो सम्झौतासँगै नेपालमा उपलब्ध नेपाल पे क्युआर र यसको इन्ट्रोपेरेबल क्युआरलाई अलि पे प्लस नेटवर्कका सदस्यहरूले सजिलै स्क्यान गरेर अन्तरदेशीय भुक्तानी गर्न सक्नेछन् ।
यो सुविधाले चीन, हङकङ, इन्डोनेसिया, इटाली, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्विडेन र सिंगापुरलगायतका विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई आफ्नो स्थानीय मोबाइल वालेट वा भुक्तानी प्रणालीमार्फत नेपालभरि नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सजिलो बनाउनेछ भने नेपाल पे क्युआरमार्फत व्यवसायीहरूले १४ अन्तर्राष्ट्रिय ई–वलेट र मोबाइल बैंकिङ एप्सजस्तै अली पे, अली पे एचके, एम पे, टिनाबा, टच एन्ड गो वालेट, माई पीबी, हाइ पेलगायतबाट भुक्तानी स्वीकार गर्न सक्नेछन् । साथै, बैंकले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सशक्त बनाउने र आधुनिक बैंकिङको अनुभव प्रदान गर्ने उद्देश्यले यस किसिमका नवीन पहलहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
बैंकले आफ्ना देशभर रहेका तीन सय दुई वटा शाखा सञ्जाल, तीन सय १६ वटा एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाईहरूमार्फत ग्राहकलाई बैंकिङ सेवा दिँदै आइरहेको छ ।