काठमाडौं, साउन २
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्त भएको छ । करिब एक दशकको सेवा अवधि सम्पन्न गरी प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झा साउन १ अर्थात् बिहीबारबाट बिदा लिएका छन् लिएको कम्पनीले जानकारी दिएको छ । उनले सञ्चालक समितिसँग भएको सम्झौताबमोजिमको प्रथम कार्यकाल सफलतापूर्वक पूरा गरी साउन १ गतेबाट नेपाल लाइफबाट बिदा लिएका हुुन् ।
नेपाल लाइफको २० वर्षे यात्रामा करिब एक दशक नेतृत्व गरेका झाको कार्यकाल सबै सूचकाङ्कमा उत्कृष्ट बन्दै जीवन बीमाको क्षेत्रमा करिब एक तिहाइ बजार हिस्सा कायम राख्न सफल भयो । सदैव आफ्ना सहकर्मी कर्मचारीहरूलाई आफ्नो मूल शक्ति मान्ने र अभिकर्ताहरूलाई प्रगतिको साझेदारको रूपमा सम्मान गर्ने झाले अभिकर्ताहरूको लगनशीलता, बीमितहरूको विश्वास, कर्मचारीहरूको साथ, सेयर धनीहरूको अटुट विश्वास, सञ्चालक समितिको मार्गनिर्देशन र नियमनकारी निकाय बीमा समितिको सहयोगले नै कम्पनीले यो उचाइ कायम गर्न सकेकाले अभिकर्ता, बीमित, कर्मचारी, सेयरधनी, सञ्चालक समिति तथा बीमा समितिलाई धन्यवाद व्यक्त गर्दै आभार प्रकट गरे ।
हालसम्म करिब २६ प्रतिशत नागरिकको पहुँच रहेको बीमा क्षेत्रले देशैभरिका कुनाकन्दरासम्म बीमाको सहज पहुँच पु-याउन नेपाल लाइफले अझै विश्वासिलो ढंगले उत्कृष्ट सेवा निरन्तर पस्किँदै जाने विश्वास व्यक्त गरे । जसका लागि आवश्यकताअनुसार आफ्नोतर्फबाट सदैव योगदान गर्न तत्पर रहेको सीईओझाले बताए । प्रमुुख कार्यकारी झाले आगामी दिनमा कम्पनीले नयाँ उचाइ लिने विश्वासका साथ सफलताको शुभकामना व्यक्त गरेका छन् । साथै, सञ्चालक समिति अध्यक्ष गोविन्दलाल संघईले प्रमुुख कार्यकारी झाको सफल कार्यकालको उच्च मूल्याङ्कन गर्दै धन्यवादका साथै कृतज्ञता व्यक्त गरेका छन् ।