गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरदेखि भारतको उत्तर प्रदेशस्थित गोरखपुरमा रहेको गोरखानाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ सुरु भएको छ । धार्मिक तथा सांस्कृतिक महत्वको गोरखाको गोरखनाथ कालिका मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले आइतबार विहान गोरखपुरका लागि ‘खिचडी यात्रा’ सुरु गरिएको गौमाता सेवा महासङ्घ गोरखाका अध्यक्ष होमसिंह बस्न्यातले जानकारी दिए । गोरखामा धार्मिक पर्यटकीय गतिविधि बढाउन गोरखादेखि गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्म गत वर्षदेखि खिचडी यात्रा गर्न थालिएको उनको भनाइ छ ।
“माघी पर्वका अवसरमा प्राचीनकालदेखि नै यहाँस्थित गोरखनाथ मन्दिरबाट गोरखपुरको गोरखनाथ मन्दिरमा खिचडी पठाउने प्रचलन रहेछ”, उनले भने, “बीस वर्षभन्दा बढी समयदेखि रोकिएको उक्त परम्परा गत वर्षदेखि पुनः निरन्तरता दिइएको हो ।”
खिचडी यात्राबाट परम्पराको जर्गेनामा मद्दत पुग्ने उनको भनाइ छ । गोरखाबाट लगिएको खिचडी गोरखपुरको गोरखनाथ मन्दिरमा चढाइन्छ । उक्त यात्रामा जनप्रतिनिधिसहित ६० जना हुन्छन् ।
“आज विहान गोरखानाथ मन्दिरबाट शुभसाइत गरी बाजागाजा मङ्गलधुन स्वस्तिक वाचनसहित गोरखा–गोरखपुर यात्रा आरम्भ गरिएको छ”, अध्यक्ष बस्न्यातले रासससँग भने । गोरखपुरको गोरखनाथ मन्दिरमा माघी पर्वका ब्रहममूर्तको समयमा खिचडी चढाएपछि मात्रै खिचडी भोग गर्ने परम्परा छ । खिचडी पुर्याउने परम्पराको पुनः थालनी गरेसँगै भारतको उत्तर प्रदेश र गोरखाबीचको धार्मिकसम्बन्ध अझै बलियो हुँदै जाने र यसले गोरखामा धार्मिक पर्यटक बढाउन सकिने अध्यक्ष बस्न्यातको भनाइ छ ।