काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको मुख्य बजार बागमती प्रदेश रहेको देखिएको छ । संघीय राजधानी भएकाले पनि बहुसंख्यक आर्थिक गतिविधि बागमती प्रदेशको काठमाडौं उपत्यकाभित्र हुने भएकाले बैंक तथा वित्तीय संस्थाहरूको मुख्य बजार पनि सोही क्षेत्र भएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनसम्बन्धी मधेश प्रदेशको वार्षिक प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाको स्रोत, साधन र सेवा बागमती प्रदेशमा केन्द्रित रहेको उल्लेख छ । आर्थिक वर्ष २०८०/८१ अनुसार कुल निक्षेप, कुल कर्जा प्रवाह, कुल ग्राहक संख्या, मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोगकर्ता, सहुलियत तथा विपन्न वर्ग कर्जा, कृषि कर्जा, औद्योगिक कर्जा आदि सबैमा बागमती प्रदेशको स्थान उच्च देखिएको छ ।
प्रतिवेदनअनुसार कुल निक्षेप परिचालनमा बागमती प्रदेशको अंश सबैभन्दा बढी अर्थात् ६६ दशमलव ७२ प्रतिशत देखिएको छ । यस अवधिमा कर्णाली प्रदेशको अंश सबैभन्दा कम अर्थात् एक दशमलव १६ प्रतिशत मात्र छ । कुल निक्षेप परिचालनमा मधेश प्रदेशको अंश पाँच दशमलव ३९ प्रतिशत छ ।
कुल कर्जा प्रवाहमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ५७ दशमलव ८० प्रतिशत देखिएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको एक दशमलव १५ प्रतिशत छ । कुल कर्जा प्रवाहमा मधेश प्रदेशको अंश नौ दशमलव २७ प्रतिशत छ । कृषि क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा नैं प्रवाह भएको छ । बागमती प्रदेशमा ३४ दशमलव ५६ प्रतिशत कृषि कर्जा प्रवाह भएकोे छ । सबैभन्दा कम कर्णाली प्रदेशमा एक दशमलव ५५ प्रतिशत कृषि कर्जा प्रवाह भएको छ । मधेश प्रदेशमा कृषि क्षेत्रमा १८ दशमलव ६६ प्रतिशत कर्जा प्रवाह भएको छ ।
विपन्न वर्गमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ४७ दशमलव २६ प्रतिशत छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा एक दशमलव ४१ प्रतिशत छ । मधेश प्रदेशमा विपन्न वर्गमा प्रवाह भएको कर्जा ११ दशमलव शून्य दुई प्रतिशत छ । सहुलियतपूर्ण कर्जातर्फ सबैभन्दा बढी बागमती प्रदेशमा ३५ दशमलव २२ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा एक दशमलव ५७ प्रतिशत प्रवाह भएको छ । मधेश प्रदेशमा सहुलियतपूर्ण कर्जाको अंश १२ दशमलव ९१ प्रतिशत छ ।
बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्या ११ हजार तीन सय ५२ रहेकोमा सबैभन्दा बढी बागमती प्रदेशमा तीन हजार ३८ रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा चार सय ७५ रहेको छ । समीक्षा अवधिमा मधेश प्रदेशमा बैंक वित्तीय संस्थाहरूको शाखा संख्या एक हजार सात सय ७९ रहेको प्रतिवेदनमा उल्लेख छ ।
मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । प्रतिवेदनअनुसार बागमती प्रदेशमा कुल मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकको संख्या ६६ लाख १६ हजार चार सय ६५ रहेकोमा सबैभन्दा कम कर्णाली प्रदेशमा पाँच लाख १९ हजार नौ सय २१ रहेको छ । मधेश प्रदेशमा मोबाइल बैंकिङ प्रयोगकर्ता १७ लाख ५५ हजार पाँच सय ५६ रहेको प्रतिवेदनमा उल्लेख छ ।
इन्टरनेट बैंकिङ प्रयोगकर्ता सबैभन्दा बढी बागमती प्रदेशमा छ लाख ६८ हजार छ सय ७२ छ । सबैभन्दा कम भने कर्णाली प्रदेशमा १५ हजार दुई सय ९१ रहेको छ । मधेश प्रदेशमा भने इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या ९० हजार तीन सय तीन रहेको छ । डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको छ ।
पुनरकर्जा प्रवाह पनि सबैभन्दा बढी बागमती प्रदेशमै भएको छ । बागमतीमा २६ दशमलव ८६ प्रतिशत पुनरकर्जा प्रवाह हुँदा सबैभन्दा कम कर्णाली प्रदेशमा दुई दशमलव ४५ प्रतिशत र मधेश प्रदेशमा आठ दशमलव ९९ प्रतिशत प्रवाह भएको छ । सबैभन्दा बढी शाखारहित बैंकिङ सेवा कोशी प्रदेशमा दुई सय ७३ र सबैभन्दा कम कर्णाली प्रदेशमा २८ तथा मधेश प्रदेशमा एक सय ३६ रहेको प्रतिवेदनमा उल्लेख छ ।