काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडको ३२ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा आइतबार कम्पनीको साधारणसभा सम्पन्न भएको हो ।
उक्त सभाले सेयरधनीहरूलाई आव २०८०/८१ को मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्र्नेलगायत सञ्चालक समितिबाट पेश भएका सबै प्रस्तावहरू पारित गरेको छ । नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकारको स्वीकृति लिएर सेयरधनीहरूलाई नगद लाभांश यथाशक्य छिटो वितरण गरिने जनाइएको छ । ३१औँ वार्षिक साधारणसभाको निर्णयबमोजिम एक करोड कित्ता सेयर प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा दरखास्त पेस गरी प्रक्रियामा रहेको छ ।
कम्पनीको नौ दशमलव चार मेगावाटको आँधीखोला र १२ मेगावाटको झिमरुक जलविद्युत् केन्द्रहरू नियमितरूपमा सञ्चालनमा छन् । साथै, सहायक तथा सम्बद्ध कम्पनीमार्फत सञ्चालित चार मेवाको खुदी जलविद्युत् केन्द्र र ६० मेवाको खिम्ती प्रथम जलविद्युत् केन्द्रको सञ्चालन पनि भइरहेको छ । खिम्ती प्रथम जलविद्युत् केन्द्रको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखि नेपाल विद्युत् प्राधिकरणमा जाने भए पनि हालसम्म विद्युत् खरिद बिक्री सम्झौतामा सहमति नभएका कारण अन्तरिम प्रबन्धअन्तर्गत उक्त केन्द्रबाट प्राधिकरणलाई विद्युत् आपूर्ति भइरहेको हो ।
यस्तै ३० मेवाको न्यादी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भई २०७९ वैशाख २७ देखि सञ्चालनमा आएको छ । प्राधिकरणबाट निर्माण हुनुपर्ने प्रसारण लाइन निर्माणमा ढिलाइ भएका कारण आयोजनाले वैकल्पिक प्रसारण लाइन निर्माण गरी विद्युत् आपूर्तिको व्यवस्था गरिएको जनाइएको छ । यद्यपि प्राधिकरणले वर्षायाममा सबै विद्युत् नलिएका कारण सो आयोजनालाई मर्का पर्न गएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार २०८२ को श्रावणदेखि यस आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता टेक अर पेमा परिणत हुने गरी प्राधिकरणसँग सहमति भएको छ । यस्तै, ३७ दशमलव छ मेवाको कावेली ‘ए’ जलविद्युत् आयोजनाको स्थानीयरूपमा वित्तीय लगानी जुटाएर निर्माण कार्य तीव्र गतिमा सुचारु भएको जनाइएको छ । तीन चिनियाँ लगानीकर्ताहरूसँगको संयुक्त लगानीमा मस्र्याङदी नदीमा निर्माणको चरणमा रहेका अयोजनाहरूमा एक सय ३५ मेगावाटको मनाङ मस्र्याङदी जलविद्युत् आयोजना, एक सय ३९ दशमलव दुई मेगावाटको तल्लो मनाङ मस्र्याङदी जलविद्युत् आयोजना र तीन सय २७ मेगावाटको माथिल्लो मस्र्याङदी दोस्रो जलविद्युत् आयोजना क्यासकेड अर्धजलाशययुक्त अवधारणामा (कुल जम्मा छ सय एक मेगावाट) वित्तिय व्यवस्थापन भई अगाडि बढाउने क्रममा छन् ।
एक सय ३५ मेगावाटको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाको निर्माण कार्य भने सुरु भएको छ । त्यस्तै, सात दशमलव नौ मेगावाटको चिनोखोला जलविद्युत् आयोजना पनि निर्माण तयारीको अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ । एक सय ६० मेवाको मुगु कर्णाली जलविद्युत् आयोजना र सात मेवाको झिमरुक सौर्य आयोजनाहरू पनि सम्भाव्यता अध्ययनकै क्रममा रहेका छन् ।