लस एन्जलस । अमेरिकाको क्यालिफोर्निया राज्यमा विगत छ दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगोका कारण आइतबारसम्म १६ जनाको मृत्यु भइसकेको छ । धेरै मानिस बेपत्ता भएको आशंका गरिएको छ ।
हावाको गति बढेसँगै धेरै क्षेत्रमा आगलागी बढेको छ । हाल यो ८० किलोमिटर÷घन्टाको गतिमा चलिरहेको छ, जुन आगामी १२ घन्टामा अझै बढ्न सक्छ । अमेरिकालाई आगो निभाउन मद्दत गर्न मेक्सिकोबाट अग्निनियन्त्रकहरू आइपुगेका छन् ।
लस एन्जलसमा आगलागीका कारण करिब एक सय ५० अर्ब डलर नोक्सान हुने सम्भावना छ । अहिले आगो केही हदसम्म नियन्त्रणमा आएको अधिकारीहरुले बताएका छन् ।
आगलागीले समुदायहरूलाई तहसनहस पारेको छ र हजारौँ दमकलकर्मीहरू र लाखौँ क्यालिफोर्नियाका बासिन्दाहरूको साहसको परीक्षा लिइरहेको छ ।
लस एन्जलस प्रहरीका अनुसार ब्रेटनवुडस्थित उपराष्ट्रपति कमला ह्यारिसको घरमा चोरीको प्रयास गरिएको थियो । यस घटनामा दुई जना पक्राउ परे पनि पछि रिहा भएका थिए । यी दुई व्यक्ति चोरीको नियतले त्यहाँ उपस्थित भएको कुनै प्रमाण नभएको प्रहरीले जनाएको छ ।