काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले माघ महिनामा पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमध्ये १७ वटाले व्यक्तिगत मुद्दतीमा पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
नेपाल बैंक, कृषि विकास बैंक र लक्ष्मी सनराइज बैंकले ब्याजदर हेरफेर गरेका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा वाणिज्य बैंकहरूको औसत ब्याजदर छ दशमलव शून्य शून्य एक प्रतिशत कायम भएको छ । पुस महिनामा वाणिज्य बैंकहरूले दिएको औसत ब्याजदर छ दशमलव शून्य एक एक प्रतिशत थियो ।
वाणिज्य बैंकमध्येमा नबिल बैंकले माघ महिनाको लागि व्यक्तिगत निक्षेपको ब्याज पाँच दशमलव ७५ प्रतिशत तोकेको छ । पुस महिनामा पनि नबिलको यस्तो ब्याजदर पाँच दशमलव ७५ प्रतिशत थियो । माछापुच्छ्रे र एनआईसी एसिया बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपतर्फ माघ महिनाको लागि पुस महिनाकै ब्याजदरलाई निरन्तता दिएका छन् । यी दुई बैंकको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर क्रमशः छ प्रतिशत र छ दशमलव छ प्रतिशत छ । लक्ष्मी सनराइज बैंकले भने माघ महिनाको लागि ब्याजदर बढाएको छ । पुस महिनामा पाँच दशमलव पाँच प्रतिशत रहेको ब्याजदर बढाएर अहिले पाँच दशमलव ७५ प्रतिशत पुर्याएको छ । एनएमबी, ग्लोबल आईएमई र सिटिजन्स बैंक इन्टरनेसनलले पनि माघ महिनाको लागि पुस महिनाकै ब्याजदरदलाई निरन्तरता दिएका छन् । माघ महिनाका लागि यी बैंकहरूको ब्याजदर क्रमशः छ दशमलव छ, पाँच दशमलव ७५ र पाँच दशमलव ६५ प्रतिशत तोकिएको छ । कृषि विकास बैंकले भने पुस महिनामा पाँच दशमलव ५७ प्रतिशत रहेको व्यक्तिगत निक्षेपको ब्याजलाई घटाएर माघ महिनाको लागि पाँच दशमलव ५१ प्रतिशतमा झारेको छ ।
कुमारी, प्राइम कमर्सियल, नेपाल इन्भेष्टमेन्ट मेगा र हिमालयन बैंकले पनि व्यक्तिगत निक्षेपतर्फ माघ महिनाको लागि पुस महिनाकै ब्याजलाई निरन्तरता दिएका छन् । सोअनुसार यी बैंकहरूले माघ महिनाको लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर क्रमशः पाँच दशमलव ९१, छ दशमलव २५, छ दशमलव पाँच र छ दशमलव २५ प्रतिशत तोकेका छन् । नेपाल एसबीआई बैंकले भने पुस महिनामा छ प्रतिशत कायम रहेको व्यक्तिगत निक्षेपको ब्याजदरलाई घटाएर माघ महिनाको लागि पाँच दशमलव पाँच प्रतिशतमा झारेको छ । एभरेष्ट, सिद्धार्थ, सानिमा र नेपाल बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपतर्फ पुस महिनाकै ब्याजलाई निरन्तरता दिएका छन् । सोअनुसार यी बैंकहरूले माघ महिनाको लागि क्रमशः छ प्रतिशत, छ प्रतिशत, छ दशमलव शून्य पाँच प्रतिशत र पाँच दशमलव छ प्रतिशत ब्याजदर तोकेका छन् ।
माघ महिनाको लागि प्रभु, स्टान्डर्ड चार्टर्ड र राष्ट्रिय वाणिज्य बैंकले पनि पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । सोअनुसार यी बैंकहरूको माघ महिनाको लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर क्रमशः छ दशमलव एक, छ दशमलव २५ र छ प्रतिशत तोकेका छन् ।