काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ । अब अर्को अस्पतालमा भर्ना नभएसम्मको अवस्थामा समन्वयको कार्य पहिलोपल्ट बिरामी पुगेको अस्पतालको जिम्मेवारी रहनेछ ।
विभिन्न किसिमका बिरामीको रिफरका लागि मापदण्ड भए पनि समग्र अस्पतालको रेफरल प्रणालीलाई समेट्ने गरी मन्त्रालयले एकीकृत निर्देशिका जारी गरेको प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि स्वास्थ्य केन्द्रको आकस्मिक कक्षमा विनाकुनै शोधखोज अनिवार्य जीवनरक्षाको उपचार तत्काल सुरु गर्नुपर्ने र सम्भव नभएका उपचार निकटतम केन्द्रमा सेवाको सुनिश्चितता गरी सुरक्षित रेफरको दायित्व सम्बन्धित केन्द्रको हुने व्यवस्था मिलाउने घोषणा गरेका थिए । सोही बुँदालाई आधार मानेर निर्देशिका जारी गरिएको हो । मन्त्री पौडेलले बिरामीको जीवनरक्षा र अस्पतालहरूमा चाप व्यवस्थापन यसको उद्देश्य रहेको बताए । ‘एकातिर बिरामी कतै गएपछि विनाकुनै ढिलाइ उपचार पाउनुपर्ने सुनिश्चित गर्न खोजेका हौँ’, उनले भने, ‘अर्कोतिर अस्पतालहरूमा चापको व्यवस्थापन समेत गर्ने लक्ष्य छ ।’
निर्देशिकाले आकस्मिक तथा भर्ना भएका बिरामीको उपचार सम्भव नभएमा अर्को अस्पतालमा नपु¥याउँदासम्मको जिम्मेवारी प्रथम अस्पतालको हुने निश्चित गरेको छ । जसअनुसार प्रथम बिन्दुको अस्पतालले त्यहाँ सम्भव नभएको उपचारका लागि मात्र नजिकको अस्पतालमा रेफर गर्नुपर्नेछ । यसैगरी, प्रथम विन्दुको स्वास्थ्य संस्थाले बिरामीलाई रेफर गर्नुपूर्व सम्बन्धित अस्पतालमा सम्पर्क गरेर त्यहाँ उपचार, शय्या तथा आवश्यक सेवा भए नभएको सुनिश्चित गर्दै समन्वय गर्नुपर्नेछ । निर्देशिकामा प्रत्येक अस्पताल, स्थानीय तह, प्रदेश र राष्ट्रियस्तरमा रेफरल एकाइ अनिवार्य हुने गरी व्यवस्था मिलाइएको छ । निर्देशिकामा बिरामीका बारेमा आवश्यक जानकारी साझा हुने भएकाले भइसकेको परीक्षण दोहोर्याउनु नपर्ने गरी थप जाँच हुने व्यवस्था गरिएको छ ।
अहिले सरकारी अस्पतालहरूमा बढिरहेको चाप कम गर्नका लागि आवश्यकताका आधारमा मात्र बिरामी रिफर गर्ने गरी निर्देशिका जारी भएको हो । बिरामीलाई आफू उपचार गर्न जाने ठाउँबारे पूर्ण अधिकार दिएको निर्देशिकाले उपचार सम्भव भएसम्म अस्पतालका तर्फबाट रिफर गर्ने कुरालाई भने नियन्त्रण गर्न खोजेको छ । स्थानीय तह, प्रदेश र संघीय तहमा व्यवस्था गरिएका रेफर एकाइले ती ठाउँको स्वस्थ्य सेवाको गुणस्तर र रेफर सम्बन्धमा स्वास्थ्य संस्थालाई निर्देशन दिने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए ।