काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सोमबार एलिस रिसेप्सन्स, सुवर्ण शमशेर मार्ग, गैह्रीधारा, काठमाडांैमा बैंकले वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सो अवसरमा २०८१ साल असार मसान्तको वासलात तथा आव २०८०/०८१ को नाफा नोक्सान हिसाब एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँडफाँट हिसाब, ईक्विटीमा भएको परिवर्तनलगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरू छलफल गरी स्वीकृत भएका छन् । यसैगरी वार्षिक साधारणसभामार्फत सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम सात प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत अनुमोदन भएको छ । यसअन्तर्गत आव २०८०/०८१ को वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पुँजीको चार प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) तथा तीन प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको हो ।
आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म बैंकका समग्र वित्तीय परिसूचकहरूमा सकारात्मक परिवर्तन देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा ३७ दशमलव ७५ करोड खुद मुनाफा रहेकोमा ३३ प्रतिशत नाफा वृद्धि गर्दै आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा ५० दशमलव ३ करोड पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा प्रतिसेयर आम्दानी १२ रुपैयाँ, पुँजी पर्याप्तता अनुपात १४ दशमलव ९३ प्रतिशत, सेयरधनी कोषमा प्रतिफल सात दशमलव ४२ प्रतिशत तथा लाभांश दर सात प्रतिशत रहेको छ ।
सभाका अध्यक्ष राजेश उपाध्यायले सेयरधनीहरूहरूबाट प्राप्त सल्लाह सुझावलाई आत्मसात गर्दै बैंकले ग्राहकको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापहरूलाई थप परिमार्जन तथा विशिष्टीकरण गर्दै अझ बढी सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न प्रतिबद्धता व्यक्त गरे ।