काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको सोमबार सम्पन्न भएको साधारण सभाले आव २०८०/०८१ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष ढुङ्गानाले बैंकले आफ्ना सेवा सुविधाहरूमा समय सापेक्ष परिमार्जन गर्दै प्रविधिमा आधारित विभिन्न सेवाहरूको माध्यमबाट ग्राहकहरू समक्ष आफ्ना गुणस्तरीय सेवाहरू प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको बताए । उनले बैंकिङ क्षेत्रमा विद्यमान प्रतिस्पर्धाको सामना गर्न बैंकले आफ्नो प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्दै समय सान्दर्भिक कार्य पद्धतिको विकास गर्ने उद्देश्यले बैंकका आन्तरिक नीति, नियम, निर्देशिका तथा कार्यविधिहरूमा समय सापेक्ष परिमार्जन गर्दै आएको छ । बैंकले संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राखेको बताए ।
साधारणसभामा बैंकका सेयरधनीहरू क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण सेयरधनीहरूको उपस्थिति रहेको थियो । अध्यक्ष ढुङ्गानाले प्रस्तुत गरेको प्रतिवेदनमाथि सेयरधनीहरूले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझावसहितको धारण राखेका थिए । उक्त टिप्पणी एवं जिज्ञासाबारे बैंक सञ्चालक समितिका अध्यक्ष ढुङ्गानाले जवाफ दिए ।
उक्त साधारणसभामा बैंक सञ्चालक समितिका सदस्यहरू महेश भट्टराई, सुशील घिमिरे, प्राडा रामप्रसाद ज्ञवाली, स्वतन्त्र सञ्चालक लक्ष्मण घिमिरे तथा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नायब प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, उपकार्यकारी अधिकृतहरू विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, रामकुमार थापाको उपस्थिति रहेको थियो । साधारणसभामा बाह्य लेखापरीक्षकहरू, बैंकका कानुनी सल्लाहकारलगायतका अतिथिहरूको उपस्थिति रहेको थियो । साधारणसभालाई कम्पनी सचिव प्रमोद अधिकारीले सहजीकरण गरेका थिए ।
बैंकको हाल सात वटै प्रदेशका ७७ जिल्लाका सबै सदरमुकामसहित दुई सय ९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, तीन सय १२ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ रहेको छ ।