काठमाडौं । हिमालयन बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैक सञ्चालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले बैंक तथा यसका सहायक कम्पनीसहितको आव २०८०/८१ को एकीकृत वित्तीय विवरण पारित गरेको छ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले सेयरधनीलाई बैंकको दरबारमार्गस्थित आफ्नै जग्गामा भवन निर्माण गरी उक्त शाखालाई स्थानान्तरण गरी सोही आर्थिक वर्षबाट हिटी दरबार शाखाको नामबाट बैंकिङ सेवा सञ्चालनमा ल्याइसकेको जानकारी गराए । तथापि आफ्नो सेवाको शुभारम्भ सोही स्थानबाट गरेको हुँदा बैंकले सञ्चयकोषको उक्त भवनको प्रवलीकरणपश्चात ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्नका लागि आवश्यक स्थान पुनः भाडामा लिने प्रक्रियामा रहेको पनि जानकारी गराए । यसका साथै बैंकले नयाँसडकमा पनि बैंकले आफ्नै जग्गामा शाखा कार्यालयको लागि भवन निर्माण कार्य प्रारम्भ गरिसकेको जानकारी गराए ।
बैंकका अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८०/०८१ का प्रतिवेदन प्रस्तुत गर्दै वर्तमान संकुचित आर्थिक परिवेशको अवस्थामा पनि बैंकको खुद मुनाफा एक अर्ब २३ करोड ८३ लाख तीन हजार रहेको र अन्य सञ्चालन आम्दानी गणना गर्दा बैंकको खुद आम्दानी एक अर्ब दुई करोड ३९ लाख एक हजार रहेको जसमध्ये अनिवार्य जगेडा कोषमा सो वर्षको खुद मुनाफाको २० प्रतिशतले हुन आउने २४ करोड ७६ लाख ६० हजार छुट्याइएको जानकारी दिए । यसैगरी बैंकको निक्षेप अघिल्लो वर्षको तुलनामा छ दशमलव ८९ प्रतिशतले वृद्धि भई दुई खर्ब ९७ अर्ब ७२ करोड ५३ लाख पुगेको, कर्जा सापट एक दशमलव ७९ प्रतिशतले वृद्धि भई दुई खर्ब ४७ अर्ब १० करोड ९० लाख रूपैंयाँ रहेको जानकारी गराए । सो अवधिमा बैंकको कुल सम्पत्ति छ दशमलव ४२ प्रतिशत र खुद सम्पत्ति तीन दशमलव १४ प्रतिशतले वृद्धि भई क्रमशः तीन खर्ब ५५ अर्ब ७३ करोड ५८ लाख र ३६ अर्ब ६२ करोड ३१ लाख पुगेको पनि जानकारी गराए । नियमनकारी निकाय नेपाल राष्ट्र बैंक तथा नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट जारी निर्देशनको अधिनमा रही कर्जामा सम्भावित नोक्सानीको लागि उल्लेख्य रकम व्यवस्था गर्नुपरेकाले समीक्षा वर्षमा बैंकले दुई अर्ब ८८ करोड ५४ लाख मात्र सञ्चालन मुनाफा आर्जन गरेको र खुद मुनाफा एक अर्ब २३ करोड ८३ लाखमा सीमित भएको जानकारी दिए ।
समीक्षा वर्षमा बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको परिधिभित्र रही एक अर्ब १२ करोड ४३ लाख ४८ हजार कर्जा तथा व्याज अपलेखन गरेको छ भने विगत वर्षहरूमा अपलेखन भएका कर्जाबाट एक करोड चार लाख १८ हजार असुली गर्न सफल भएको छ । अपलेखन गरिएको कर्जाका साथै अन्य निष्क्रिय कर्जाको असुलीले चालू आर्थिक वर्षको नाफामा सहयोग पुग्ने विश्वास दिलाए । बैंकले स्थापनाकालदेखि नै नियमितरूपमा आफना सेयरधनीहरूलाई बोनस सेयर तथा नगद लाभांशको रूपमा आकर्षक मुनाफा दिने गरेकोमा अघिल्लो वर्ष तथा यस वर्ष सो कामलाई निरन्तरता दिन नसकेकोमा दुःख व्यक्त गर्दै कर्जा नोक्सानी व्यवस्थालगायत अन्य शीर्षकमा रकमान्तर भएको रकम फिर्ता गरी आगामी दिनमा पहिलेजस्तै आकर्षक लाभांश दिने कुरामा जोड दिए ।