महेन्द्रनगर (धनुषा) ।सीता स्वयम्वरका बेला श्रीरामले धनुष उठाउँदा त्यसको एक टुक्रा आकाश, अर्को पाताल र बीचको भाग धनुषाधाममा झरेको किंवदन्तीका साथै यहाँको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा मंगलबार बिहानैदेखि एकमहिने मकर मेला सुरु भएको छ । धनुषाधाम नगरपालिकाले मेलाको व्यवस्थापन गर्दै आएको छ ।
पाँच मकर स्नान गरेर धनुष भगवानको दर्शन गरेपछि सय रामेश्वरमको दर्शन गरेको पुन्य प्राप्त हुने जनविश्वास छ । देशका विभिन्न भागका साथै भारतबाट पनि धेरै श्रद्धालु भक्त मेलामा आउने गरेका छन् । धनुषको टुक्रा खसेको जनकपुरधामको पोखरी धनुष सागरका नामले चिनिन्छ । यो स्थानमा धनुष बाबाको मन्दिर पनि छ जहाँ हरेक वर्ष माघमा मेला लाग्ने गरेको छ । भक्तजनले धनुषको टुक्रामा पुष्प एवं जल अर्पण गर्ने चलन छ ।