काठमाडौं । चालू आर्थिक वर्षको छ महिनामा सरकारको आम्दानी र खर्चको स्थिति कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ३९ दशमलव ४३ प्रतिशत आम्दानी गरेको छ भने ३५ दशमलव ८९ प्रतिशत खर्च गरेको छ ।
सरकारले यस आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँको बजेट ल्याएको थियो । यसमध्ये पुस मसान्तसम्ममा छ खर्ब ६७ अर्ब ६० करोड १९ लाख रुपैयाँबराबर खर्च भएको छ । जुन वार्षिक लक्ष्यको ३५ दशमलव ८९ प्रतिशत मात्रै हो ।
चालूगत शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ बजेट छुट्याइएकोमा हालसम्म ३९ दशमलव ६३ प्रतिशत अर्थात् चार खर्ब ५२ अर्ब रुपैयाँ खर्च भएको छ । यस्तै पुँजीगत शीर्षकमा विनियोजित बजेटमध्ये १६ दशमलव १६ प्रतिशत खर्च भएको छ । यसवर्ष पुँजीगत शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बजेट छुट्याएकोमा छ महिनामा जम्मा ५६ अर्ब ९३ करोड ५० लाख रुपैयाँ मात्र खर्च भएको छ ।
वित्तीय व्यवस्था शीर्षकको हालसम्मको खर्च ४३ दशमलव दुई प्रतिशत छ । सरकारले वित्तीय व्यवस्थापनका लागि तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ बजेट छुट्याएकोमा हालसम्म एक खर्ब ५८ अर्ब ६६ करोड ३९ लाख रुपैयाँ खर्च भएको छ ।
पुससम्म पाँच खर्ब ५९ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको अर्थ मन्त्रालयले जनाएको छ । यस आर्थिक वर्ष सरकारले १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख राजस्व उठाउने लक्ष्य राखेको छ । गत आर्थिक वर्षको पहिलो छ महिनाको तुलनामा ६३ अर्ब रुपैयाँ बढी राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म चार खर्ब ९६ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको थियो । यस आर्थिक वर्षको पुस मसान्तसम्म विविध प्राप्ति समेत गरी कुल पाँच खर्ब ६७ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ । जुन वार्षिक लक्ष्यको ४० प्रतिशत हो ।
चालू आर्थिक वर्षको छ महिनामा छ खर्ब ७२ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । पुस महिनामा मात्रै एक खर्ब ६० अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ ।
सरकारले चालू आर्थिक वर्षका लागि ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान सहायता लिने लक्ष्य लिएकामा हालसम्म सात अर्ब ३७ करोड छ लाखबराबर वैदेशिक सहायता प्राप्त गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतको तुलनामा राजस्व सङ्कलन बढी हुनु सकारात्मक भएको उल्लेख गर्दै लक्ष्यअनुरुप राजस्व सङ्कलनमा केन्द्रित हुने बताएका छन् ।
अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले गत असोजको बाढी पहिरो, पेट्रोलियम पदार्थको आयातमा कमी, पेट्रोलियम सवारीसाधनको आयात घटेको, विद्युतीय सवारीसाधनको आयात बढेको, दूरसञ्चार क्षेत्रमा परेको प्रभाव, आयात तथा माग भएको कमीका बाबजुद पनि राजस्व सङ्कलन उल्लेखनीय भएको बताए ।