काठमाडौं । नेपाल उद्योग परिसंघले मुलुकमा आर्थिक तथा व्यावसायिक वातावरण सुधार्न कानुनमा गरिएका व्यवस्थाहरूको पूर्ण कार्यान्वयनमा जोड दिएको छ । सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार्न, लगानी अभिवृद्धि एवं सार्वजनिक सेवा प्रवाहमा सुशासन प्रवाह गर्न हालै गरेको कानुन संशोधनलाई स्वागत गर्दै परिसंघले प्रभावकारी कार्यान्वयन गर्न पनि आग्रह गरेको छ ।
सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमार्फत ११ वटा, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमार्फत १२ वटासहित जम्मा २४ वटा कानुनहरूमा गरिएको संशोधनले मुलुकमा लगानी अभिवृद्धि गर्न सहयोग पुग्ने परिसंघको बुझाइ छ । परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि कानुनमा गरिनुपर्ने सुधारसम्बन्धी विस्तृत अध्ययनसहितको सुझाव सरकारलाई बुझाएको थियो ।
हाल बजारको समग्र मागमा आएको उच्च संकुचन तथा व्यवसायीहरूको खस्किँदो मनोबललगायतका कारणले लगानी बढ्न नसकिरहेको अवस्थामा कानुनहरूमा गरिएको सुधारले लगानीकर्तामा सकारात्मक सन्देश जाने परिसंघको विश्वास छ । यद्यपि गएको वैशाखमा सम्पन्न लगानी सम्मेलनको पूर्वसन्ध्यामा केही कानुनहरूमा संशोधन गरिए पनि समयमै आवश्यक नियमावली तथा कार्यविधि नबनाइँदा सुधार गरिएका कानुनहरूबाट अपेक्षाकृतउपलब्धी हासिल हुन नसकेकोतर्फ गम्भीर हुन पनि परिसंघले आग्रह गरेको छ ।
हाल सुधार गरिएका कानुनको प्रभावकारी कार्यान्वयनका लागि समयमै आवश्यक नियमावली तथा कार्याविधिहरू ल्याउन परिसंघले सम्बन्धित सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ । परिसंघले सुधारका लागि माग गर्दै आएको अर्थसँग सम्बन्धित, भूमिसँग सम्बन्धित तथा सार्वजनिक खरिदलगायतका कानुनहरूमा समेत यथाशीघ्र सुधार गर्न आग्रह गरेको छ ।