काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको २७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चन्दन अग्रवालको सभापतित्वमा संस्थाले आइतबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभामा अध्यक्ष चन्दन अग्रवालद्वारा प्रस्तुत वित्तीय संस्थाको २७ औँ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वार्षिक वित्तीय विवरण आ.व. २०८०/८१ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरू र लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिकसम्बन्धी प्रस्तावहरू सर्वसम्मतिबाट पारित गरिएको फाइनान्सले जानकारी दिएको छ । साथै, फाइनान्सले निकट भविष्यमा आफ्नै भवनबाट कारोबार सञ्चालन गर्नका लागि विद्यापति चौंकबाट करिब एक सय मिटर उत्तर नेपाल राष्ट्र बैंक, जनकपुर कार्यालयसँगै टासिएको डेढ कठ्ठा जग्गा खरिद गरी घर निर्माणको प्रक्रिया अगाडि बढाएको, सूचना प्रविधिलाई समय सापेक्ष बनाउने र बैंकिङ कारोबारलाई सहज गर्न अत्याधुनिक सफ्टवेयर जडान गरी कारोवार सञ्चालन गरिरहेको र वित्तीय संस्थाको कारोबार विस्तारको लागि थप दुई वटा शाखा सर्लाही जिल्लाको कौँडेना गाउँपालिका र गौँडैता नगरपालिकामा गत महिनाबाट सञ्चालनमा ल्याइसकेको जानकारी गराइयो ।
सभामा वित्तीय संस्थाको सञ्चालक सदस्यहहरू गेहनाथ ढुंगाना, जयप्रकाश ठाकुर, अशोक साह, गृष्मा श्रेष्ठ र महेशकुमार सिंह तथा प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव रजनीश कुमार सिंहलगायतका सेयरधनीहरू, कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।