काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १८ औँ वार्षिक साधारणसभा सोमबार पोखरामा सम्पन्न भएको छ । उक्त साधारणसभाले प्रस्तुत भएका सम्पूर्ण प्रस्तावहरू छलफल गरी सर्वसम्मत पारित गरेको छ । विकास बैंकले आव २०८०/८१ को वार्षिक प्रतिवेदनसहित सेयरधनीहरूलाई प्रस्ताव गरिएको पाँच प्रतिशत (करसहित)को नगद लाभांश सर्वसम्मतिले पारित गरेको छ ।
उक्त साधारणसभाबाट आगामी कार्यकालका लागि संस्थापक सेयरधनीहरूको प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरू दिलीप प्रताप खाँण, श्यामप्रसाद बस्याल र दीपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरू विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोइराला निर्वाचित भएका छन् ।
साधारणसभापश्चात् बसेको नवनिर्वाचित सञ्चालकहरूको बैठकले दिलीप प्रताप खाँणलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको बताइएको छ । २०८१ पौष १७ गतेसम्म कायम रहेका विकास बैंकका सेयरधनीहरूले मात्र सभाले पारित गरेको लाभांश प्राप्त गर्नेछन् ।
हाल बैंकको चुक्ता पुँजी पाँच अर्ब ६८ करोड पाँच लाख १७ हजार तीन सय २७ रूपैयाँ रहेको छ । विकास बैंकले हाल देशभर एक सय २३ वटा शाखा कार्यालयहरू, एउटा एक्स्टेन्सन काउन्टर र ५१ एटीएमका साथै नवीनतम डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।