काठमाडौं । कास्की जिल्लाको पोखरामा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको कार्यक्षेत्र भएको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको सञ्चालक समिति अध्यक्ष चन्द्रबहादुर क्षेत्रीको अध्यक्षतामा होटल टास्क इन्टरनेसनल प्रालि पोखराको सभाहलमा मिति २०८१ पौष २९ गते सोमबार वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
सभाले अध्यक्षद्वारा प्रस्तुत आव ०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा विभिन्न प्रस्तावसहित आव ०८०/८१ को शून्य दशमलव पाँच प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश र नौ दशमलव पाँच प्रतिशत बोनस सेयर पारित गरेको छ ।
यसपश्चात संस्थाको हालको चुक्ता पुँजी वृद्धि भई ४० करोड ७६ लाख ९२ हजार तीन सय चार पैसा ७६ पुगेको छ । साथै, उक्त साधारणसभामा सर्वसम्मतरूपमा नयाँ सञ्चालक समितिको समेत चयन भएको छ । नयाँ सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट चन्द्रबहादुर क्षेत्री, चन्द्रबहादुर बस्नेत, रमा कुमारी शर्मा र गणेश पौडेल तथा सर्वसाधारण सेयरधनीहरूको तर्फबाट विश्वराज नेपाल र युक्त बहादुर सुवेदी निर्विरोध निर्वाचित भएका छन् । सोही दिन बसेको सञ्चालक समितिको बैठकले सञ्चालक चन्द्र बहादुर क्षेत्रीलाई सर्वसम्मत चयन गरेको छ । साधारणसभाको कार्यक्रम वित्तीय संस्थाका कम्पनी सचिव तथा नायब प्रमुख कार्यकारी अधिकृत फणिन्द्र पाण्डेले सञ्चालन गरेका थिए ।