तेल अभिब । इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको छ । इजरायली मिडियाहरुले सम्बन्धित स्रोतलाई उद्धृत गर्दै यो समाचार लेखेका छन् । इजिप्ट, कतार र अमेरिकाको सहयोगमा कतारको राजधानी दोहामा यो सम्झौता भएको बताइएको छ ।
इजरायली अधिकारीहरूले सोमबार भने कि सम्झौताको पहिलो चरणमा ३३ बन्धकहरूलाई रिहा गरिनेछ । यी ३३ बन्धकमध्ये पाँच जना इजरायली महिला सैनिक हुनेछन् । इजरायलले यी पाँच महिला सैनिकको सट्टामा दुई सय ५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ ।
हमाससँग ९४ इजरायली बन्धकहरू छन्, जसमध्ये करिब ३४ जनाको मृत्यु भइसकेको छ । अक्टोबर ७, २०२३ मा हमासले दुई सय ५१ इजरायली नागरिकलाई बन्धक बनाएको थियो । बाँकी बन्धकहरूलाई पहिले उद्धार गरिएको थियो ।
सम्झौताका लागि अन्तिम वार्ता मंगलबार भएको थियो । यो सम्झौतामा हस्ताक्षर हुनासाथ तत्काल कार्यान्वयनमा ल्याइनेछ । पहिलो चरणको युद्धविराम ४२ दिनको हुनेछ । ३३ बन्धकहरूलाई रिहा गरेपछि बाँकी बन्धकहरूलाई १५ दिन पछि रिहा गरिनेछ ।
यस अवधिमा युद्धविराम स्थायी रूपमा कार्यान्वयन गर्ने विषयमा पनि वार्ता हुनेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युद्धविराम र बन्धक मुक्तिको सम्झौता लगभग अन्तिम भएको र मे महिनाको अन्त्यमा सार्वजनिक गरेको तीन चरणको युद्धविराम योजनामा आधारित रहेको बताएका थिए ।