काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरूको कुल निक्षेप रकम झण्डै ६७ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो पटक अद्यावधिक गरेको बैंकिङ क्षेत्रको कुल निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी प्रतिवेदनअनुसार यही पुस २७ गतेसम्ममा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५४ वटा संस्थाहरूको कुल निक्षेप रकम ६६ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ ।
बैंकिङ क्षेत्रमा कायम रहेको कुल निक्षेप रकममध्येमा वाणिज्य बैंकहरूमा मात्र कुल ५९ खर्ब ५४ अर्ब रुपैयाँ रहेको छ । यसबाहेक विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल निक्षेप रकम पनि पछिल्लो अवधिमा सात खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रमा हाल कायम रहेको कुल कर्जा रकम भने पछिल्लो अवधिमा ५३ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । उक्त कर्जामध्येमा वाणिज्य बैंकहरूको कुल कर्जा रकम ४७ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल कर्जा रकम छ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ । बैंकिङ क्षेत्रमा हाल कायम रहेको निक्षेप तथा कर्जा अनुपात (सिडी रेसियो) भने ७९ दशमलव २० प्रतिशत रहेको छ । सोअनुसार बैंकिङ क्षेत्र अहिले पनि छ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्न सक्ने अवस्थामा छ । क्षमता भएर पनि बजारमा अहिले कर्जाको माग नहुँदा वित्तीय क्षेत्रमा पछिल्लो समय अधिक तरलता बढ्दै गएको हो । सोही अधिक तरलतालाई नियन्त्रणमा राख्नको राष्ट्र बैंकले अल्पकालीन अवधिको निक्षेप उपकरण जारी गरेर अधिक तरलता खिच्दै आएको छ । यो साता मात्र राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँभन्दा बढी अधिक तरलता खिचिसकेको छ भने परिपक्व भएको निक्षेप उपकरणलाई पुनः वित्तीय प्रणालीमा पठाउँदै आएको छ ।