काठमाडौं । जिल्लाका छ हजार पाँच सय ३० जना छात्रा तथा किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको छ । यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियानअन्तर्गत १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप लगाउन लागिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय दोलखाका सूचना अधिकारी पवन भाटले विद्यालय छात्रा तथा किशारीहरूको पहिचान गरी एचपीभी खोप लगाइने जानकारी दिए । दुई नगरपालिकासहित सात गाउँपालिकाभित्र रहेका विद्यालयलाई खोप केन्द्र बनाई माघ २२ देखि २८ गतेसम्म खोप कार्यक्रम सञ्चालन गरिने भएको छ । सबैभन्दा बढी भीमेश्वर नगरपालिकाका २९ विद्यालयमा कक्षा ६ देखि १० सम्मका एक हजार चार सय ८१ जना विद्यार्थीलाई खोप लगाइने छ । त्यसैगरी जिरी नगरपालिका १० विद्यालयमा पाँच सय ११ जना, कालिञ्चोक गाउँपालिकाका २१ विद्यालयमा नौ सय ११ जना, गौरीशंकर गाउँपालिकाका १४ वटा विद्यालयमा पाँच सय ३६ जना, तामाकोशी गाउँपालिकाका १९ विद्यालयमा पाँच सय ६६ जना किशोरीलाई पाठेघरको मुख क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाइने छ ।
त्यसैगरी बैतेश्वर गाउँपालिकाका १७ वटा विद्यालयमा पाँच सय ८४ जना, मेलुङ गाउँपालिका १६ वटा विद्यालय तथा अन्यगरी पाँच सय ९७ जना, विगु गाउँपालिका भित्रका २० वटा विद्यालयमा सात सय ४० जना र शैलुङ गाउँपालिकाका १३ वटा विद्यालय र अन्य केन्द्रसहित छ सय जना किशोरीहरू खोप लगाउने तयारी भएको सूचना अधिकारी भाटले बताए ।