काठमाडौ । राष्ट्रिय कृषि कम्पनी लिमिटेड र ग्लोबल आईएमई क्यापिटलबीच सम्झौता भएको छ । कम्पनीले निकट भविष्यमा नै जारी गर्न लागेको साधारण सेयरको बिक्रीको प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको हो ।
कम्पनी र क्यापिटलबीच यही पुस २८ गते सेयर निष्काशनसम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौतामा राष्ट्रिय कृषि कम्पनी नेपालको तर्फबाट कार्यकारी अध्यक्ष विशाल हुमागाइँ र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले हस्ताक्षर गरेका छन् । ‘माटोदेखि सफलतासम्म’ भन्ने यसको मूल नाराका साथ २०८१ साल वैशाख २७ गते नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यावसायीकरण र कृषक सशक्तीकरण गर्ने लक्ष्यका साथ राष्ट्रिय कृषि कम्पनी नेपालको स्थापना भएको हो । कम्पनीले कृषिलाई सजायको पेसाबाट गर्वको पेसामा रूपान्तरण गर्न विभिन्न कृषि उद्योग स्थापना गर्दै नेतृत्वदायी मानव संशाधन विकासमा योगदान पुर्याउने लक्ष्य लिएको छ । लोकन्थली भक्तपुरमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको हाल जनकपुर शाखा सञ्चालनमा रहेको छ । निकट भविष्यमा सातै प्रदेशका विभिन्न जिल्लामा १२ शाखा स्थापना गरी कृषक र उपभोक्तालाई अझ बढी प्रभावकारी सेवा दिने कम्पनीको योजना रहेको छ । शाखाले कृषि उत्पादनको बजारीकरण, शीत भण्डारण सेवा, तालिम र परामर्श र कृषि उपकरण तथा मलको वितरणलगायत कार्य गर्नेछ ।
अधिकृत पुँजी ५० करोड, जारी पुँजी २५ करोड रहेको कम्पनीले निकट भविष्यमा ५० करोड जारी पुँजी पुर्याउने लक्ष्य लिएको छ । कम्पनीमा हालसम्म सात सय जनाभन्दा बढी संस्थापकहरू आबद्ध भइसकेका छन् ।