काठमाडौं । कृषि विकास बैंकको लहान शाखामा भएको घटनाप्रति तीन वटा संगठनहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । वाणिज्य बैंकहरूको छाता संगठन (नेपाल बैंकर एसोसिएसन), विकास बैंकहरूको छाता संगठन (डेभलपमेन्ट बैंकर एसोसिएसन) र फाइनान्स कम्पनीहरूको छाता संगठन (नेपाल वित्तीय संस्था संघ)ले संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै कृषि विकास बैंकको लहान शाखामा भएको घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।
तिनै वटा संगठनहरूले सयुक्तरूपमा विज्ञप्ति जारी गर्दै भनेका छन, पछिल्लो समय कृषि विकास बैंक लिमिटेडको सिराहा जिल्ला, लहानस्थित शाखालगायत अन्य विभिन्न बैंकका केही शाखाहरूमा कार्यरत कर्मचारीप्रति लक्षित गरी सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा कपोलकल्पित तथा भ्रमपूर्ण समाचार तथा अत्यावश्यक सेवाअन्तर्गत रहेको बैंकिङ सेवा नै ठप्प पारी दैनिक कामकाज गर्न बाधा पुग्ने गरी बैंकमा तालाबन्दी, ढुङ्गामुढा तथा होहल्ला गर्नेलगायतका गतिविधिप्रति हाम्रोे गम्भीर ध्यानाकर्षण भएको छ । यस कार्यले गर्दा ग्राहकहरू बैंकिङ सेवा प्रयोग गर्ने अधिकारबाट बञ्चित भएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरूले पारदर्शीरूपमा नियामक निकायबाट जारी गरिएको नीति÷निर्देशन तथा विभिन्न ऐनको अधिनमा रही निक्षेप संकलन, कर्जा प्रवाह तथा असुलीजस्ता कार्यहरू गर्दै आइरहेका छन् । यी संस्थाहरूबाट गरिएको लिलामलगायत अन्य प्रक्रिया चित्त नबुझेको अवस्थामा ग्राहकहरू नियमानुसार कानुनी प्रक्रियामा जानसक्ने अवस्था हुँदाहुँदै बैंकिङजस्तो संवेदनशील सेवा नै अवरुद्ध हुने गरी बाधा सिर्जना गर्नु कदापी उचित नहुने व्यहोरा सबैमा अनुरोध गर्दछौँ, विज्ञप्तिमा भनिएको छ । कुनै पनि बैंक÷वित्तीय तथा लघुवित्त संस्थाबाट ऋण लिएपछि नियमितरूपमा कर्जाको सावाँ÷किस्ता तिर्नु ऋणीको पहिलो दायित्व हुनेमा दुई मत छैन । विभिन्न सर्तहरूको अधिनमा रही बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए पछि नतिर्ने भन्नु अराजकता हुनुका साथै यस प्रकारका क्रियाकलापहरू कसैको हितमा नहुने र यसले असहज वातावरण सिर्जना गर्ने र आर्थिक गतिविधिमा समेत नकरात्मक असर पार्न सक्ने हुनाले यसप्रति सजग रहन हामी सबैमा आग्रह गर्दछौँ । ती संगठनहरूले विज्ञप्तिमार्फत भनेका छन् ।