काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना वरिष्ठ अभिकर्ताहरूको राय सुझाव र मागलाई मध्येनजर गर्दै कम्पनीको बहुचर्चित बाल अमृत बीमालेखअन्तर्गत बाल अमृत–४ सावधिक बीमालेख प्रस्तुत गरेको छ ।
जुम मिटिङमार्फत जोडिएका कम्पनीका सबै प्रदेश तथा शाखा प्रमुख, मार्केटिङ कर्मचारीहरू, वरिष्ठ अभिकर्ताहरूका साथै केन्द्रीय कार्यालयका विभागीय प्रमुखहरू सम्मिलित एक समारोहका बीच प्रमुख कार्यकारी अधिकृतले यस बीमालेखको उद्घाटन गर्दैै विगतमा पनि अभिकर्ता तथा बीमित वर्गहरूले अत्यन्तै रुचाएको बाल अमृत बीमालेखलाई अझ बढी परिष्किृत गरी बाल अमृत सावधिक बीमालेख–४ योजना प्रस्तुत गरेको बताए । यो योजना सुरु गर्न पाउँदा अत्यन्तै खुसी लागेको र बाल बच्चाको सुमधुर भविष्यसँग सम्बन्धित यो योजना कम्पनीकै एक अब्बल योजना रहेको उनको भनाइ थियो ।
यस बीमालेख योजनाका विशेषताहरूका सम्बन्धमा बजार विभाग प्रमुख विवेक शर्माले प्रष्ट्याउँदै यस बीमालेखमा बीमितको प्रवेश उमेर न्यूनतम एक महिना (३०) दिन र अधिकतम १५ वर्ष, प्रस्तावकको उमेर न्यूनतम २० वर्ष र अधिकतम ५० वर्षसम्म रहने प्रावधान रहेको छ । यस बीमालेखमा प्रस्तावकको रूपमा बुबा, आमा वा कानुनी संरक्षक हुनुपर्नेछ । बीमांक रकम न्यूनतम एक लाख र अधिकतम आयस्रोतको आधारमा ५० लाखसम्म लिन सकिने यस बीमालेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गरेको हुन्छ र बीमाशुल्क मासिक, त्रैमासिक अर्धवार्षिक र वार्षिकरूपमा बुझाउन सकिने व्यवस्था गरेको छ । यसैगरी यस बीमालेख योजनामा अधिकतम बीमा समाप्ति उमेर ७० वर्ष रहेको छ । साथै चुक्ता मूल्य, ऋण, समर्पण मूल्य र आयकर छुटलगायतका अन्य सुविधाहरू पनि यस बीमालेखमा रहेको बताए ।
यस बीमालेखलाई प्रवद्र्धन गर्ने उद्देश्यले बीमित तथा अभिकर्ताहरूका लागि बीमालेख आरम्भ सप्ताह प्रोत्साहन योजना पनि लागू गरिएको बताए । साथै, उनले सम्पूर्ण अभिकर्ता, बीमित र कम्पनीका शुभेच्छुकहरूले कम्पनीको मोबाइल एप्स, वेबसाइट र नेपालभर रहेको जुनसुकै शाखा कार्यालयहरूमा गएर पनि यससम्बन्धी विस्तृत जानकारी लिन सकिने व्यवस्था गरिएको बताए ।