काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले लिटिल एन्जल्स कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो पाँचौँ वार्षिकोत्सवको अवसरमा क्यापिटलको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजनाअनुरूप बिहीबार हात्तिवन, ललितपुरस्थित लिटिल एन्जल्स कलेजमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा स्नातक तहमा अध्यनरत विद्यार्थीहरूका साथै क्याम्पसका कर्मचारीहरू तथा शिक्षक वर्गलाई सेयर बजारको प्राविधिक विश्लेषणसम्बन्धी प्रशिक्षण तथा यसको प्रभावकारिताको बारेमा जानकारी तथा साक्षरता प्रदान गराइएको छ ।
क्यापिटलले आफ्नो स्थापनाको पाँचौँ वर्षको वार्षिकोत्सवको उपलक्ष्यमा माघ महिनाभरि रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोगलगायतका विविध कार्यक्रमहरू आयोजना गरी भव्यताका साथ मनाउँदै छ ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।