काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने भएको छ । सरकारले अध्यादेशमार्फत लगानी सहजीकरण गरेपछि चेम्बरले आईटी उद्योगमा लगानी एवं अन्तर्राष्ट्रिय बजारमा सहजीकरण गर्नेगरी रणनीतिक लक्ष्य तय गरेको हो ।
आईटी, सफट्वेर एन्ड टेक्नोलोजी समितिमार्फत चेम्बरले आईटी उद्योगमा लगानीको खोजी एवं उद्यमशीलता विकासका लागि पहल गर्नेछ । चेम्बरले यसका लागि आईटी उद्यमीहरूसँग एकचरण छलफल समेत गरिसकेको जनाएको छ । चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालमा आर्थिक विकास र समृद्धिका लागि आईटी उद्योगको सम्भावना उच्च भएकाले लगानीका लागि सहजीकरण गर्न लागिएको बताए । ‘नेपालमा विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत अब आईटी उद्योग हो, सरकारले पनि आगामी एक दशकमा वार्षिक ३० खर्ब भित्र्याउने लक्ष्यसहित कार्ययोजना तय गरेको छ’, उनले भने, ‘सूचना प्रविधि उद्योगको विकासका लागि लगानी जुटाउनेदेखि अन्तर्राष्ट्रिय बजारमा चेम्बरले सहजीकरण गर्नेछ ।’ सर्वसाधरणको लगानी जुटाएर आईटी उद्योगको स्थापना गर्न सकिने अध्यक्ष अग्रवालको भनाइ छ ।
अन्तर्राष्ट्रिय आईटी उद्योगका लागि नेपालको जनशक्ति तुलनात्मकरूपमा केही सस्तो पर्न जाने भएकाले पनि उपयुक्त अवसरको खोजी गरिनुपर्ने उनले बताए । नेपालका युवाहरूलाई आईटी उद्योगमा सहभागी गराउन नीतिगत सहजीकरण गर्न चेम्बरले भूमिका निर्वाह गर्ने समेत उनले बताए । चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले पब्लिक प्राइभेट पार्टनरसीपको अवधारणामा कम्पनी खडा गरेर आईटी उद्योगको विकासमा लाग्नुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय ठूला ठूला कम्पनीको ब्याकअपका रूपमा स्वदेशमै बसेर काम गर्न सकिने उनको भनाइ छ । चेम्बरको आईटी सफ्टवेयर एन्ड टेक्नोलोजी कमिटीका सभापति विज्ञान श्रेष्ठले आईटी उद्योगको विकास र विस्तारका लागि सरकार र निजीक्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए । युवाहरूको नवप्रवर्द्धन आईडीया र सोँचलाई सार्थक बनाउन लगानीको पहुँच वृद्धि गरिनुपर्ने उनको भनाइ थियो ।