भक्तपुर । मीनकुमारी राणा प्रतिष्ठानद्वारा तेस्रो पुण्यतिथिमा प्रदान गरिने प्रजातन्त्रसेनानी, पत्रकार एवं खेलाडी छनोटका लागि प्रतिष्ठानका अध्यक्ष कविर राणाको संयोजकत्वमा पाँच सदस्यीय पुरस्कार छनोट समिति गठन गरिएको छ ।
प्रतिष्ठानले हरेक वर्ष मीनकुमारी राणाको वर्षिक पुण्यतिथिमा तीन विधामा पुरस्कार र एक विद्यालयलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको प्रतिष्ठानका महासचिव रवि राणाले जानकारी दिए । अध्यक्ष राणाको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिमा साहित्यकार एवं आख्यानपुरुष डा. ध्रुवचन्द्र गौतम, पत्रकार हरिहर विरही र प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत रहेका छन् भने सदस्यसचिवमा महासचिव रवि राणा रहेको प्रतिष्ठानले जनाएको छ । सबै पुरस्कारको राशि ५१ हजार एक रुपैयाँ रहेको पनि राणाले बताए । तेस्रो पुण्यतिथिकै अवसरमा समाजसेवी स्वर्गीय मीनकुमारी राणाको प्रतिमा अनावरण तथा मीनकुमारी राणा मार्गको नामाकरण गरिने छ ।
पहिलो पुण्यतिथिमा सो पुरस्कार साहित्यकार डा ध्रुवचन्द्र गौतम, पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत र वरिष्ठ खेलाडी एवं बक्सिङ प्रशिक्षक मदन गुरुङलाई प्रथम राष्ट्रपति डा रामवरण यादवबाट प्रदान गरिएको थियो भने दोस्रो पुण्यतिथिमा प्रजातन्त्र सेनानी सम्मानबाट पूर्व सांसद् एवं राजनीतिज्ञ लेखनाथ न्यौपाने, पत्रकार किशोर नेपाल र बक्सिङ प्रशिक्षक प्रकाश थापामगरलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान पुरस्कारहरू प्रदान गरेका थिए । त्यसैगरी दुवै पुण्यतिथिमा राणा परिवारले अध्ययन गरेको भक्तपुर सानोठिमीस्थित आदर्श माध्यामिक विद्यालयका जेहन्दार विद्यार्थीलाई प्रदान गर्नेगरी ५१ हजार रुपैयाँ पूर्वविद्यार्थी समाजका अध्यक्ष गीतकार सुवासचन्द्र ढुंगेललाई हस्तान्तरण गरिएको थियो ।