काठमाडौं । क्यान महासंघको आयोजनामा बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औँ संस्करण आगामी माघ २४ देखि २८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ ।
क्यान इन्फोटेकको ३०औँ संस्करणको मिति घोषणासँगै टाइटल स्पोन्सर, इन एसोसिएसन विथ, प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भर स्पोन्सरका साथै अन्य प्रायोजन तथा साझेदारीका निम्ति प्रस्ताव खुला भएको छ । सञ्चार तथा सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहने छ । प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने क्यान महासंघका अध्यक्ष सुनैना पाण्डे घिमिरेले बताइन् ।
क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरूलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरू सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने उनले जानकारी दिइन् । प्रदर्शनीमा राखिने नवीनतम प्रविधि स्टार्टअप इनोभेसन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिइएको छ । यसैबीच क्यान महासंघले क्यान इन्फोटेक २०२५ का लागि आवश्यक पर्ने स्टल तथा ह्याङगर निर्माण र विद्युत् आपूर्ति, सुरक्षा गार्ड, स्टेसनरी, छपाईलगायतका प्रस्तावहरू समेत आह्वान समेत गरेको छ । महासंघले हरेक वर्ष आयोजना गर्दै आएको ‘क्यान इन्फोटेक’ नेपालकै ठूलो सूचना प्रविधि प्रदर्शनी हो । क्यान इन्फोटेकमा यस पटक सूचना प्रविधिका नयाँ–नयाँ आविष्कार र प्रविधि समाधानलाई व्यापकरूपमा समेटिने जनाइएको छ ।