काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करण चैत्रमा हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा चैत ७ देखि ११ गतेसम्म निफको आठौँ संस्करण हुने भएको हो ।
७० देशबाट प्राप्त छ सयभन्दा धेरै चलचित्रबाट निफको आठौँ संस्करणमा ४० देशका ८७ वटा चलचित्रहरू छानिएको आयोजकले जनाएको छ । छनौटमा परेका थुप्रै चलचित्रहरू बुसान, कान्स, लोकार्नो, बर्लिनाल आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका छन् । फेस्टिभललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर दुई किसिमले वर्गीकरण गरी, दुवै वर्गीकरणमा फिचर र लघु चलचित्र, साथै वृत्तचित्र विधामा अवार्ड वितरण गरिनेछ । साथै, यस वर्षबाट एआई प्रविधिबाट वा सोसम्बन्धी विषयमा बनेको चलचित्रको प्रतिस्पर्धा पनि थप गरिएको छ ।
यस वर्ष महोत्सवमा प्रदर्शन हुने चलचित्रहरू क्युएफएक्स सिनेमाका सिभिल मल र छाया सेन्टरका हलमा प्रदर्शन हुनेछन् । साथै, पर्यटन बोर्डको हल र राष्ट्रिय सभागृहमा विभिन्न किसिमका बहस र संवादहरू सञ्चालन गरिने छ । महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिने जनाइएको छ ।
महोत्सवमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघु चलचित्रलाई पाँच सय डलरको बागमती अवार्ड प्रदान गरिनेछ भने एआई चलचित्रलाई पाँच सय अमेरिकी डलर राशिको मन्जुश्री अवार्ड प्रदान गरिने छ । यसैगरी नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५०–५० हजार नगद र ट्रफी प्रदान गरिनेछ । राष्ट्रिय सर्ट फिल्ममध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने राष्ट्रिय फिचर फिल्मतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाङकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफीद्वारा सम्मानित गरिनेछ ।