काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा कर्जा सदुपयोगिताबारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । नविल बैंक लिमिटेडको सहकार्यमा टोखा विकास अनुसन्धान समाज टोखा–१० को आयोजनामा शनिबार एकदिने कर्जा सदुपयोगितासम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो ।
उक्त अन्तक्र्रियामा कर्जा किन लिने ? कति लिने ? कहाँबाट लिने ? जे कामका लागि लिइएको हो सोही काममा प्रयोग गर्नुपर्ने, प्रयोग नगर्दा हुने समस्या सम्बन्धमा निक्षेपकर्ता संस्था र ऋणीहरूबीचमा छलफल भएको थियो । नविल बैँकका अध्यक्ष उपेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको अन्तर्क्रियामा ऋषि वाग्ले र अनुराग ज्ञवालीले कर्जा सदुपयोगितासम्बन्धी प्रशिक्षण दिएका थिए । छलफलबाट प्राप्त राय सुझाव सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूलाई प्रतिवेदनमार्फत उपलब्ध गराउने टोखा विकास अनुसन्धान समाज टोखा –१० का अध्यक्ष एवम् नेपाल राष्ट्र बैंकका पूर्व सञ्चालक रामजी रेग्मीले जानकारी दिए ।
यस्तै, अन्तर्क्रियामा उठेका राय सुझावलाई निक्षेपकर्ता र ऋणीहरूलाई कर्जा सदुपयोगिताका सम्बन्धमा कायम रहेका नीतिगत व्यवस्थाहरू निर्देशनहरूबारे जानकारी गराउने बताइएको छ । छलफलबाट उठेका प्रश्नको समाजका अध्यक्ष एवम् राष्ट्र बैंकका पूर्वसञ्चालक रामजी रेग्मीले उत्तर दिएका थिए ।