काठमाडौं । नेपालले तेस्रो मुलुकसँग गर्ने व्यापारमा करिब ८० प्रतिशत मुलुकसँगको व्यापार घाटामा छ । सोमबार भन्सार विभागले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले एक सय ५७ वटा मुलुकसँग व्यापार गरेको छ भने एक सय २४ वटा व्यापार घाटा छ । ३३ मुलुकसँगको व्यापार नाफामा छ ।
विभागका अनुसार समीक्षा अवधिमा नेपालले सबैभन्दा बढी व्यापार घाटा भारत, चीन, अर्जेन्टिना, युक्रेन र अष्ट्रेलियालगायतका मुलुकसँग बेहोरेको छ । नेपालले भारतसँग चार खर्ब २९ अर्ब १४ करोड रुपैयाँ, चीनसँग एक खर्ब ५८ अर्ब ६२ करोड आठ लाख रुपैयाँ, अर्जेन्टिनासँग २२ अर्ब ६२ करोड ४६ लाख रुपैयाँ घाटा बेहोरेको छ । साथै युक्रेनसँग १३ अर्ब दुई करोड २३ लाख रुपैयाँ, अष्ट्रेलियासँग आठ अर्ब ५९ करोड ९३ लाख रुपैयाँ, थाइल्यान्डसँग सात अर्ब ६० करोड ६१ लाख रुपैयाँ, इन्डोनेसियासँग सात अर्ब ३६ करोड ४४ लाख रुपैयाँ र मलेसियासँग सात अर्ब ३० करोड २२ लाख रुपैयाँ नेपालले घाटा बेहोरेको छ ।
भान्सामा प्रयोग हुने कृषि उपजदेखि लिएर महँगा सवारीसाधन, पेट्रोलियम पदार्थलगायतका अधिकांश सामग्रीहरू आयात गर्नुपर्ने अवस्थाका कारण मुलुकको व्यापार सधैँ घाटामा रहेको अर्थविद्हरू बताउँछन् । सरकारले कृषिजन्य उत्पादन र औद्योगिक उत्पादनलाई बढवा नदिँदा र वास्तविक कृषकलाई नसमेट्दा हालको समस्या देखिएको अर्थविद् केशव आचार्यले बताए । सरकार र निजी क्षेत्र मिलेर कृषि, मत्स्य उत्पादन बढुवा गर्न र औद्योगीकरणका लागि पर्याप्त लगानी गर्न नसक्दा समस्या भएको आचार्यको भनाइ छ । लगानी जोखिम, ढुवानी लागत बढी आदिले गर्दा निर्यात गर्न नसकिएको अर्थविद्हरू बताउँछन् ।
कृषि उत्पादनका साथै औद्योगिक उत्पादनमा वृद्धि गर्न नसक्दा नेपालले तेस्रो मुलुकसँगको व्यापारमा घाटा बेहोरेको विज्ञहरू बताउँछन् । कृषिप्रधान देश भनिए पनि कृषि उपज नै अर्बौँको आयात हुँदा व्यापारमा सुधार नदेखिएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका पूर्वनायब कार्यकारी निर्देशक डा. सुमनकुमार रेग्मी बताउँछन् । निर्यातयोग्य कृषि क्षेत्रका वस्तुहरूका व्यावसायिक उत्पादन हुन नसक्नु, अधिकांश निर्यातयोग्य वस्तुहरू आयातीत कच्चापदार्थमा र न्यूनतम मूल्य अभिवृद्धिमा आधारित हुँदा निर्यात व्यापारमा वृद्धि हुन नसकेको उनको भनाइ छ ।
हाम्रो समाजमा उद्योगीभन्दा पनि बढी व्यवसायी हाबी हुँदा व्यापारमा निराशाजनक स्थिति रहेको अर्थात् व्यापारघाटा उच्च रहेको उद्योग मन्त्रालयका एक अधिकारीले बताए । हामीमा उद्योगीभन्दा बढी व्यवसायी रहेका छन् जसले गर्दा उत्पादनभन्दा बढी व्यवसायमा लगानी गर्दा नेपालले तेस्रो मुलुकसँगको व्यापारमा नाफा कमाउन नसकेको ती अधिकारीले बताए । निजी क्षेत्र भने सरकारले वातावरण बनाउन नसक्दा औद्योगिक विकास हुन नसकेको दाबी गर्दै आएको छ । सीमित मुलुकबाहेक नेपालको धेरै मुलुकसँगको व्यापारमा घाटा भएको छ । नाफा रहेको मुलुकसँग पनि नाफा कहिलेसम्म लिन सक्ने भन्ने यकिन छैन । नाफा भएका मुलुकहरूमा निर्यातयोग्य सामग्रीहरू के–कस्ता र कति परिमाणमा गर्न सकिन्छ भन्ने यकिन नरहेको जानकारहरू बताउँछन् ।
विभागको तथ्याङ्कअनुरूप चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा नेपालले अफगानिस्तानसँग ४६ करोड ३२ लाख रुपैयाँ, डेनमार्कसँग २२ करोड ८७ लाख रुपैयाँ, अष्ट्रियासँग पाँच करोड ९७ लाख रुपैयाँ, रसियासँग दुई करोड ५२ लाख रुपैयाँ, लटिभासँग एक करोड ६७ लाख रुपैयाँ र माल्दिभ्ससँग एक करोड ४६ लाख रुपैयाँ नाफा बेहारेको छ । साथै नेपालले क्रोएसियासँग एक करोड २९ लाख रुपैयाँ, न्यू केलेडोनियासँग ९८ लाख ६८ हजार रुपैयाँ, माल्टासँग ९५ लाख ७० हजार, आइसल्याण्डसँग ८३ लाख ४६ हजार रुपैयाँ र मौरिससँग ७२ लाख २२ हजार रुपैयाँ नाफा बेहोरेको छ । नेपालको निर्यात क्षेत्रले सीमित विविधीकरण, कम उत्पादकत्व र मूल्यवान् वस्तुहरूको अभावजस्ता चुनौतीको सामना गरिरहेको छ । कपडा, गलैँचा र कृषि उत्पादनहरूलगायत प्रमुख निर्यातहरू प्रायः सानो मात्रामा उत्पादन गरिन्छ र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धाको अभाव रहेको छ । आयातको तुलनामा ज्यादै न्यून निर्यातका कारण नेपालले अन्य मुलुकसँगको व्यापारमा समेत उच्च घाटा बेहोरेको छ । निर्यातजन्य सामग्रीको उत्पादन गर्न नसक्नु र आयातित कच्चापदार्थमा आधारित उद्योगहरूका कारणले गर्दा समेत निर्यात व्यापार फस्टाउन नसकेको आचार्य बताउँछन् ।
पुस मसान्तसम्म नेपालको व्यापारघाटा सात खर्ब २३ अर्ब ५८ करोड रुपैयाँ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव ३८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म व्यापार घाटा छ खर्ब ९३ अर्ब १९ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा आयात, निर्यातका साथै वैदेशिक व्यापार समेत बढेको छ । समीक्षा अवधिमा कुल वैदेशिक व्यापार नौ दशमलव २५ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा कुल वैदेशिक व्यापार नौ खर्ब २१ अर्ब १५ करोड रुपैयाँको रहेको छ भने गत आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा कुल वैदेशिक व्यापार आठ खर्ब ४३ अर्ब १३ करोड रुपैयाँको रहेको थियो ।
सवा एक खर्बको पेट्रोलियम इन्धन आयात
विभागका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा सबैभन्दा बढी परिणाममा पेट्रोलियम पदार्थ एक खर्ब १६ अर्ब ३१ करोड रुपैयाँको आयात गरिएको छ । समीक्षा अवधिमा पेट्रोलियम पदार्थमध्ये डिजेल ५४ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ, पेट्रोल ३२ अर्ब १४ करोड ९३ लाख रुपैयाँ र खाना पकाउने एलपीजी ग्यास २९ अर्ब ७९ करोड ७० लाख रुपैयाँको आयात गरिएको छ । समीक्षा अवधिमा फलामजन्य सामग्री २५ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ, भटमास २४ अर्ब ३७ करोड २४ लाख रुपैयाँ, मोबाइल १६ अर्ब ७१ करोड ३९ लाख रुपैयाँ, कच्चा सूर्यमुखी तेल १३ अर्ब ५६ करोड ६७ लाख र मल नौ अर्ब ५९ करोड रुपैयाँको आयात गरिएको छ । यसका साथै हवाई इन्धन, विद्युतीय सवारीसाधन, सुन, माछालगायतका सामग्री पनि अर्बौँबराबरको आयात गरिएको छ ।
उच्च आयातका कारण समीक्षा अवधिमा आठ खर्बमाथि आयात व्यापार रहेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा आयात व्यापार आठ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँबराबरको रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सात प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा आयात व्यापार सात खर्ब ६८ अर्ब १६ करोड रुपैयाँको रहेको थियो ।
करिब १९ अर्बको भटमासको तेल निर्यात
समीक्षा अवधिमा सबैभन्दा बढी क्रमशः भटमासको तेल, गलैँचा, सूर्यमुखी तेल, अलैँचीलगायतका सामग्री निर्यात भएको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा भटमासको तेल १८ अर्ब ९१ करोड रुपैयाँ, गलैँचा पाँच अर्ब ६१ करोड ४२ लाख रुपैयाँ, सूर्यमुखी तेल चार अर्ब ९८ करोड ४८ लाख रुपैयाँ, अलैँची चार अर्ब ५६ करोड ६५ लाख रुपैयाँको निर्यात भएको छ । साथै चिया दुई अर्ब ९६ करोड रुपैयाँ, यार्न दुई अर्ब ७९ करोड रुपैयाँ, फेल्ट दुई अर्ब ४९ करोड रुपैयाँ र फलाम तथा फलामजन्य सामग्री दुई अर्ब ४७ करोड र जुट दुई अर्ब ३४ करोड रुपैयाँको निर्यात भएको छ । साथै जुस, कपडा, सल र कुकुर बिरालोको खानाको पनि निर्यात उच्च रहेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा निर्यात व्यापार ९८ अर्ब ७८ करोड रुपैयाँको रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१ दशमलव ७८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा निर्यात व्यापार ७४ अर्ब ९६ करोड रुपैयाँको रहेको छ । डा. रेग्मीका अनुसार निर्यातयोग्य कृषि क्षेत्रका वस्तुहरूका व्यावसायिक उत्पादन हुन नसक्नु अर्को समस्या रहेको छ । अरु अन्तर्राष्ट्रिय व्यापारका समस्यामा लगानी एवं व्यापारमैत्री वातावरणको कमी, निकासीजन्य उद्योगहरूलाई उत्पादनमूलक अन्य आर्थिक क्षेत्रहरूसँग एकीकृत गर्न नसक्नु, आपूर्तिजन्य कठिनाइहरू विद्यमान रहनु, प्रमुख निकासीजन्य वस्तुहरूको गुणस्तरमा कमी, असहज श्रम सम्बन्ध, ऊर्जा समस्याले उत्पादन लागत बढ्नु नेपाली व्यापारको समस्या हुन् । अर्कोतर्फ अन्तर्राष्ट्रिय समस्यामा अधिकांश निर्यातयोग्य वस्तुहरू आयातीत कच्चापदार्थमा र न्यूनतम मूल्य अभिवृद्धिमा आधारित छन् ।