काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र ऋण असुली न्यायाधिकरणको मिलेमतोमा महालक्ष्मी गार्मेन्ट्स इन्डस्ट्रिजको मालिक बृज गोपाल इनानीको स्वामित्वमा रहेको काठमाडौंको ताहाचलको सोल्टीमोडस्थित ग्रान्ड होटलअगाडिको जग्गा कुल क्षेत्रफलको आधा मात्र उल्लेख गरी पूरै कित्ता लिलामी गर्न सार्वजनिक सूचना प्रकाशन गरेको छ ।
राज्यका विभिन्न अङ्गले विगत लामो समयदेखि ट्रार्गेट गरेर उक्त गार्मेन्ट्सका मालिक बृज गोपाल इनानीको नाममा दर्ता भएका सबै घरजग्गा बदनियतसाथ मिलेमतोमा अवमूल्याङ्कन गर्दै त्रुटिपूर्ण लिलाम गर्दै आएको छ । सोही क्रममा पछिल्लो समयमा गत पुस २३ गते मंगलबार न्यायाधिकरणले ३५ दिने सार्वजनिक सूचना प्रकाशन गरी साबिक काठमाडौं जिल्ला कालीमाटी गाविस–२ हाल काठमाडौं महानगरपालिका–१३ स्थित कित्ता नम्बर ६३९ को चार आना र कित्ता नम्बर ६४२ को सात आना एक पैसा जग्गा चार करोड ५० लाख रुपैयाँमा लिलाम गर्ने सूचना प्रकाशन गरेको छ ।
उद्योगी इनानीको नाममा रहेको साबिक कित्ता नम्बर ६३९ र ६४२ को दुईवटा कित्ता नम्बरको जग्गा २०४ नम्बर कित्ता नम्बरमा परिणत भएको थियो । २०६५ साल फागुन २६ गते मालपोत कार्यालय कलंकीबाट कित्ता नम्बर २०४ कित्ताकाट भई कित्ता नम्बर २१३ क्षेत्रफल छ सय ३१ दशमलव ६४ वर्गमिटर अर्थात् करिब २० आना कायम भएको थियो । सो ठाउँको जग्गाको मूल्य करिब १५ करोड रुपैयाँ पर्ने बताइएको छ । तर, मिलेमतोमा उक्त जग्गा मात्र चार करोड ५० लाखमा लिलाम गर्ने योजनाका साथ काम अगाडि बढेको छ ।
उक्त जग्गाको क्षेत्रफल छ सय ३१ दशमलव ६४ वर्गमिटर भएको जानकारी मालपोत कार्यालय कलंकीले २०६५ साल फागुन २८ गते नै राष्ट्रिय वाणिज्य बैंकलाई चलानी नम्बर ७४०२ को पत्रबाट जानकारी गराइसकेको थियो । वाणिज्य बैंकले सोही साल अर्थात् २०६५ साल चौत ९ गते नै मालपोत कार्यालय कलंकीबाट औपचारिक जानकारी लिएको थियो भने त्यसको जानकारी ऋण असुली न्यायाधिकरणलाई पनि मालपोत कार्यालयले दिएको थियो ।
सो जग्गामा दुईवटा भवनसमेत रहेको छ । तर, ऋण असुली न्यायाधिकरणले नक्सामा रहेको घरलाई बेवास्ता गर्दै जग्गाको मात्र लिलामीको सूचना प्रकाशन गरेको छ । जग्गाको सही क्षेत्रफल र घरको मूल्याङ्कन नगरी हचुवाको भरमा लिलाम गर्ने सूचना प्रकाशित भएपछि इनानीले नेपाल राष्ट्र बैंकलाई गुहार्दै त्रुटिपूर्ण लिलामी रोक्न राष्ट्रिय वाणिज्य बैंकलाई निर्देशन जारी गरिदिन माग गर्दै उद्योगी यही माघ २ गते बुधबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सम्बोधन गर्दै निवेदन दिएका छन् । लिलाम बिक्री गर्दा धितोमा रहेको सम्पत्तिको प्रचलित बजारभाउअनुसार न्यायोचित मूल्याङ्कन कायम लिलाम बिक्री गर्नुपर्ने बैंक तथा वित्तीय संस्थाको ऋण असुली नियमावली, २०५९ मा उल्लेख छ ।
बैंकको धितो सुरक्षणमा रहेको जग्गालाई लिलाम गर्दा गरिएको मिलेमतो र लापरबाहीले उद्योगी तथा राष्ट्रिय वाणिज्य बैंक दुवैलाई नोक्सान हुने प्रस्ट छ । सोही कारण उक्त त्रुटिपूर्ण लिलामी रोक्न वाणिज्य बैंक र ऋण असुली न्यायाधिकरणलाई निर्देशन गरी दिनका लागि राष्ट्र बैंकसमक्ष उद्योगी इनानीले माग गरेका हुन् ।
उद्योगी एवं महालक्ष्मी गार्मेन्टका प्रोपाइटर इनानीले गभर्नर अधिकारीसमक्ष २०६५ साल चैत ९ गते राष्ट्रिय वाणिज्य बैंकले मालपोत कार्यालय कलंकीलाई २०६५ साल फागुन २६ गते कित्ताकाट गरेको निर्णयसँग सम्बन्धित निर्णयलगायतका सम्पूर्ण कागजातहरू उपलब्ध गराउन लेखेको पत्र, उक्त जग्गाको कित्ताकाट गरी पठाइदिने सम्बन्धमा मालपोत कार्यालय कलंकीबाट नापी शाखा कलंकीलाई २०६५ साल फागुन २६ गते लेखेको पत्रको फोटोकपि, नापी कार्यालय कलंकीले कित्ताकाट गरी मालपोत कार्यालय कलंकीलाई २०६५ साल फागुन २६ गतेको चलानी नम्बर ३२७१ पत्र, २०६५ साल फागुन २६ गते साविक कित्ता नम्बर ६४२ र ६३९, कित्ता नम्बर २०४ कायम भइ २०६५ साल फागुन २६ गते कित्ताकाट गरी कित्ता नम्बर २१३ कायम भएको नक्साको ट्रेसको फोटोकपी, कित्ताकाट हुनुअगावै कित्ता नम्बर २०४ को नक्सा ट्रेसको फोटोकपी, साबिक कित्ता नम्बर ६३९ र ६४२ को नक्साको ट्रेसको फोटो कपि, साबिक कालीमाटी गाविस वडा नम्बर २ (क) को कित्ता नम्बर ६३९ र ६४२ को ब्लुप्रिन्टको फोटोकपी तथा २०८१ साल पुस २३ गते ऋण असुली न्यायाधिकरणबाट लिलामीका लागि निकालिएको ३५ दिने त्रुटिपूर्ण सूचनाको प्रतिसमेत बुझाएका छन् ।