काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यही माघ पाँच गते द सोल्टी काठमाडौंमा ‘एमडीआरटी’ अचिभर्स अवार्ड २०२५ भव्यतापूर्वक सम्पन्न गरेको छ । सन् २०२४ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्ममा ‘एमडीआरटी २०२५’ का लागि योग्य भएका ९५ जना अभिकर्तालाई सम्मानित गरिएको छ ।
पानसमा दीप प्रज्वलन गरी कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, सञ्चालक शक्तिकुमार गोल्यान र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्तरूपमा कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले सम्मानित हुने सबैलाई बधाई दिँदै आगामी वर्ष झन् बढी संख्यामा एमडीआरटीहरूलाई सम्मान गर्न कम्पनी लालायित रहेको बताए । आगामी दिनमा थप ऊर्जाका साथ बीमालाई नेपालीको घरदैलोसम्म पुर्याउन कुनै कसर बाँकी नराखी युद्धस्तरमा सम्पूर्ण अभिकर्ताहरू एक जुट भई लाग्न आग्रह गरे ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मन्तव्य व्यक्त गर्दै कम्पनीले भव्य कार्यक्रम आयोजना गर्न पाउँदा मन हर्षित भएको बताए । नेपाल लाइफले बीमा बजारको करिब एकतिहाइ हिस्सा ओगटेको र आगामी दिनमा आमनागरिकबीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरेका छन् । पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरू रहेको साथै उहाँहरूकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफू विश्वस्त रहेको कुरा बताए । अभिकर्ताहरूको चौतर्फी विकासका निम्ति कम्पनी संवेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए । अभिकर्ता भनेको प्रगतिको सहयात्री भएको र सोको महत्वलाई मनन् गर्दै आमनेपाली नागरिकलाई बीमाको उपयोगिता र औचित्यता प्रकाश पार्न सकिएमा नेपालको बीमा बजारमा प्रचुर सम्भावना रहेको र यसलाई मूर्तता प्रदान गर्न ठोस कार्ययोजनासहित अघि लम्कन आग्रह गरे ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा यस कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले एमडीआरटीजस्तो अन्तर्राष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी क्वालिफाई हुन सफल भई कार्यक्रममा सामेल भएका अभिकर्ताहरूलाई बधाई तथा आगामी दिनका लागि शुभकामना व्यक्त गरे । क्वालिफाई भएका अभिकर्ताहरूलाई अन्तर्राष्ट्रियस्तरमा गई एक्स्पोजर लिन आग्रह गरे । बीमा क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा भएका असल अभ्यासहरूसँग साक्षात्कार हुन यस किसिमको कार्यक्रमले सहयोग गर्नुका साथसाथै नेपालमा पनि बीमासम्बन्धी नीति निर्माणमा सहयोग पुर्याउने कुरा बताए । विश्व अर्थतन्त्रमा आएका आर्थिक मन्दीका प्रभाव नेपालमा पनि परेको र यस कठिन समयका बाबजुद पनि सफल भएका सबै अभिकर्ताहरूको उनले प्रशंसा गरे । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग हरेक क्षेत्रमा बढ्दै गएको र आगामी दिनमा विभिन्न क्षेत्रमा रोजगारीमा कटौती हुने खालको अवस्था सिर्जना भएको तर बीमा अभिकर्ताको काम कहिले पनि विस्थापित नहुने हुँदा उनीहरू एकदमै सुरक्षित पेसामा रहेको कुरा बताउँदै सो पेशाको गरिमा र महिमालाई ख्याल गर्दै जीवनबीमाको सचेतना आम नागरिकबीच पुर्याउन आग्रह गरे । बीमामा रिस्क बेस्ड क्यापिटल तथा अन्य प्रावधानहरूको व्यवस्था भएसँगै चुनौतीहरू थपिएको र यस चुनौतीलाई अवसरमा परिणत गर्न नेपाल लाइफकर्मीहरू अब्बल रहने र सफलताको शिखर चुम्नेमा आफू विश्वस्त रहेको बताए ।