काठमाडौं । उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं सिंहदरबारस्थि खानेपानी मन्त्रालयमा पुगेका छन् । संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले उनी सोमबार रित्तो गाग्री बोकेर दबाब दिन भन्दै काठमाडौं आएका हुन् ।
गाग्रीसहित प्रवेश गर्न नपाइने भएकोले उनले आज रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने तयारी गरेको भए पनि उनी गाग्रीविनै खानेपानी मन्त्रालयभित्र पुगेका छन् । सुरक्षाकर्मीले उनलाई गाग्रीविनै गेटबाट प्रवेश गराएका हुन् । यसअघि उनले रितो गाग्री बोकेर धरानको भानुचोकमा पनि प्रदर्शन गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले आजै भेट्ने कार्यक्रम रहेको छ ।
खानेपानीको अभाव झेल्दै आएको धरानमा ४१ वर्षसम्म पानी वितरण गरिरहेको खानेपानी संस्थान विघटन गरेर २०७७ साल फागुनमा खानेपानी व्यवस्थापन बोर्ड गठन गरिए पनि पानीको अभाव जस्ताको त्यस्तै रहेको छ । पानीको निहुँमा धरानमा धेरै ठूलो विवाद हुने गरेको छ ।