काठमाडौं । एलिट क्यापिटल लिमिटेडले स्वास्थ्यकर्मीहरुलाई सेयरबजारमा लगानी गर्न सघाउने उद्देश्यले ‘डक्टर्स पीएमएस’ सेवा सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त मर्चेन्ट बैंकर एलिट क्यापिटलले आफ्नो ‘लगानी व्यवस्थापन सेवा’ अन्तर्गत यो विशेष योजना ल्याएको हो ।
क्यापिटलका चिफ बिजनेस अफिसर ओमकारमणि आचार्यका अनुसार न्यूनतम पाँच लाख रुपैयाँ वा सोबराबरको सेयर भएपछि सो योजनामा सहभागी हुन सकिन्छ । यसमा वार्षिक सेवाशुल्क पूर्णरुपमा मिनाहा गरिएको छ भने लगानीमा भएको मुनाफामा लगानीकर्तालाई ९० प्रतिशत र एलिट क्यापिटललाई १० प्रतिशत भागबण्डा हुनेगरी बाँडफाट गरिनेछ । साथै मुनाफा भएको रकम त्रैमासिकरुपमा चाहेको बेला झिक्न सकिने र यसमा पाँच लाखभन्दा माथि जतिसुकै लगानी गर्न सकिने समेत जनाइएको छ ।
यो योजनामा सहभागी हुने स्वास्थ्यकर्मीका परिवारलाई निःशुल्क डिम्याट खाता तथा मेरो सेयर सेवाको सुविधा समेत प्रदान गरिने जनाइएको छ । साथै यस लगानी योजनामा सहभागी हुने लगानीकर्तालाई निःशुल्क बिमा सुविधा समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।
यसका साथै सेयरबजारसम्बन्धी निःशुल्क तालिम र अन्य परामर्श सेवाहरु समेत निशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । चिकित्सकलगायत सम्पूर्ण स्वास्थ्य संस्थामा आबद्ध व्यक्तिहरुका लागि यो योजना लागु हुने क्यापिटलले जनाएको छ ।