काठमाडौं । कृषि विकास बैंकले आफ्नो ५८ औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । सोमवार बैंक परिसरमा सम्पन्न उक्त समारोहका प्रमुख अतिथि उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पानसमा दीपप्रज्वलन गरी उद्घाटन गरेका थिए ।
उद्घाटनपश्चात् प्रमुख अतिथि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्लो समय अब्बल बैंकका रूपमा आफूलाई स्थापित गर्न सफल भएको भन्दै प्रशंसा व्यक्त गरेका छन् । हाल बैंकिङ बजारमा निक्षेप संकलनको तुलनामा कर्जाको माग नहुनु चुनौतीको रूपमा रहेको छ । पछिल्लो समय समग्र अर्थतन्त्रका सूचकहरूमा सकारात्मक हुने संकेत देखिएकोले बैंकहरूले पनि कर्जा लगानीलाई थप सर्वसुलभ ढंगले कर्जा प्रवाह गर्ने गरी आफ्ना कार्यक्रमहरू बढाउन आग्रह गरे । उक्त अवसरममा प्रमुख अतिथिबाट बैंकको नयाँ वेबसाइटको शुभारम्भ समेत गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विशिष्ठ अतिथि नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकहरूले पछिल्लो समयमा गरेको प्रगति राम्रो भएकोले लगानीको मार्ग प्रशस्त गर्दै अगाडि बढ्न आग्रह गरे । पछिल्लो समय बैंकिङ बजार केही चुनौती भए पनि पालना गर्नु न्यूनतम नियमको पालना गर्दै कृषि विकास बैंकले गत आवमा गरेको प्रगतिले यहाँका कर्मचारीहरूलाई मात्र नभई बैंकको हितचाहने ग्राहकलगायत सम्पूर्णलाई उत्साहित बनाएको विचार व्यक्त गर्दै उनले बैंकको प्रशंसा गरे । त्यसैगरी बैंकले प्रकाशन गरेको ५८ औँ वार्षिकोत्सव आर्थिक विशेषाङ्क तथा विगत ४६ वर्षदेखि प्रकाशन भइरहेको साहित्यिक प्रकाशन समष्टिको पनि प्रमुख अतिथिबाट विमोचन समेत गरिएको थियो ।
बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कृषि विकास बैंकका पूर्वमहाप्रबन्धक श्रीकृष्ण उपाध्यायलगायतका अतिथिले वार्षिकोत्सवको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिलगायत सम्पूर्णमा स्वागत गर्दै बैंकका प्रमुख कार्यकारी अधिकत गोविन्द गुरुङले हाल बैंकको समग्र गतिविधिको समेत जानकारी दिएका थिए । समारोहमा बैंकमा अविच्छिन्न २० वर्ष र २५ वर्ष काम गरेका कर्मचारीहरूलाई पदक र कदरपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, बैंकका उपमहाप्रबन्धकहरू, विभागीय प्रमुखहरू, कर्मचारीहरू, पत्रकारहरूको उपस्थिति रहेको थियो ।