काठमाडौं । नेपालमा ब्रान्ड र व्यापार परामर्श सेवाहरू प्रदान गर्नका लागि दक्षिण एसियाका दुई प्रमुख कम्पनीहरू क्रियो र स्ट्राटेजी सेन्ट्रल (आउटरिच नेपाल र एडीसीओएमएम समूह, बंगलादेशको ब्रान्ड र स्ट्राटेजी परामर्शको भर्टिकल)ले साझेदारी गरेका छन् ।
बंगलादेश दूतावासका कार्यवाहक मोहम्मद हुमायुन कबीर र नेपालको विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा साझेदारीको औपचारिक घोषणा गरिएको छ । दुवै कम्पनी मिलेर नेपाली ब्रान्डहरूलाई विश्वव्यापी ब्रान्डको प्रभुत्व भएको प्रतिस्पर्धात्मक परिदृश्यमा फस्टाउन सशक्त बनाउने लक्ष्य राखेका छन् । यस साझेदारीले घरेलु ब्रान्डहरूले सामना गर्ने प्रमुख चुनौतीलाई सम्बोधन गर्न, उनीहरूलाई दीर्घकालीन दिगोपन सुनिश्चित गर्न रणनीतिहरूको मार्गदर्शन दिनेछ ।
कार्यक्रममा स्ट्राटेजी सेन्ट्रलका अध्यक्ष र एडीसीओएमएम समूहका प्रबन्ध निर्देशक नजिम फरहान चौधरीले क्रियोसँगको साझेदारीले नेपालमा आफ्नो विचार विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । नजिम फरहान एक प्रसिद्ध उद्यमी पनि हुन् जो प्रारम्भिक चरणको स्टार्टअप इकोसिस्टममा सक्रियरूपमा संलग्न छन् । सार्क ट्याङ्क बंगलादेशमा सार्कको रूपमा उनको भूमिकाले उदीयमान व्यवसायहरूलाई समर्थन गर्ने उनको प्रतिबद्धतालाई जोड दिन्छ ।
क्रियोका निर्देशक र आउटरिचका संस्थापक उजय शाक्यले घरेलु ब्रान्डहरूलाई समर्थन गर्ने कुरामा जोड दिए । साझेदारीले अर्को दुई वर्षको लागि महत्वाकांक्षी लक्ष्यहरू सेट गरेको छ । मुख्य घरेलु ब्रान्डहरू र स्टार्ट–अपहरूसँग सहकार्य गर्ने लक्ष्य राख्दै कम्पनीले तिनीहरूलाई बजारमा फस्टाउन रणनीति र ब्रान्डिङ सम्बन्धित सेवारू प्रदान गर्नेछ । नेपाली ब्रान्डहरूको भविष्यलाई साकार पार्ने साझा प्रयासका साथ यो सहकार्यले देशभरका व्यवसायहरूका लागि नयाँ अवसरहरू अनलक गर्ने जनाइएको छ ।