वासिङ्टन । डोनाल्ड ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपति बनेका छन् । ट्रम्पले सोमबार साँझ अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित युएस क्यापिटल हिल (संसद)भित्र ४७औँ राष्ट्रपतिको रुपमा शपथ लिएका हुन् । ट्रम्पलले बाइबलमा हात राखेर सर्वोच्च अदालतका न्यायाधीश जोन रोबर्टबाट शपथग्रहण लिएका हुन् ।
ट्रम्पले यसअघि सन् २०१७ देखि २०२१सम्म अमेरिकाको ४५औँ राष्ट्रपतिको रुपमा काम गरेका थिए । ट्रम्पले शपथग्रहण गर्नुअघि जोडी भान्सले ५०औँ उपराष्ट्रपतिको शपथ लिएका थिए ।
शपथग्रहणपछि ट्रम्पले अमेरिकालाई फेरि महान् बनाउनेछौँ भनेका छन् । उनले अमेरिकाको स्वर्ण युग भर्खरै सुरु भएको बताए । उनले भने ‘यस दिनबाट हाम्रो देश फेरि समृद्ध र विश्वभर सम्मानित हुनेछ, म केवल अमेरिकालाई पहिलो स्थान दिनेछु । न्यायको तराजुलाई सन्तुलित गरिनेछ । न्याय विभाग र हाम्रो सरकारको क्रुर, हिंसात्मक र अनुचित हतियारको अन्त्य हुनेछ । हामी अमेरिकालाई फेरि महान् बनाउनेछौँ ।’
कडा चिसोका कारण सपथ ग्रहण ४० वर्षपछि घरभित्रै सम्पन्न भएको छ । अहिले वासिङ्टन डिसीको तापक्रम माइनस ५ डिग्री सेल्सियससम्म झरेको छ । यसअघि १९८५मा रोनाल्ड रेगनले यूएस क्यापिटल हिलमा शपथ लिएका थिए । सपथग्रहण अघि ट्रम्पलाई राष्ट्रपति जो बाइडेनले स्वागत गरेका थिए ।