काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले मंगलबार देउवानिवास बूढानीलकण्ठमा भेट गरेका छन् ।
सरकारले विदेशमा बस्ने नेपालीलाई गैरआवासीय नेपाली नागरिकता दिन थाले पनि त्यसको संविधानतः कार्यान्वयन नहुँदा समस्या परेको भन्दै अध्यक्ष डा. केसीले समाधानका लागि पहल गरिदिन देउवासँग अनुरोध गरेका थिए ।
अध्यक्ष डा. केसीले पछिल्लोपटक गैरआवासीय नेपालीलाई १० वर्ष भिसा शुल्क नलाग्ने भनेर अध्यादेश आउँदा विदेशमा रहेका नेपाली थप निरास भएको बताए । केही दिनमा सुरु हुने हिउँदे अधिवेशनबाटै संविधानले दिएका अधिकार कार्यान्वयनका लागि मार्गप्रशस्त गर्न पूर्वप्रधानमन्त्री देउवाले आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।