काठमाडौं । सहकारी ठगी मुद्दामा कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका पूर्वउपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगीविरुद्धको मुद्दामा बयानका लागि मंगलबार भैरहवा पुगेका छन् ।
स्रोतका अनुसार लामिछाने बुधबार जिल्ला अदालत भैरहवामा बयानका लागि उपस्थित हुनेछन् । लामिछानेले आफ्ना कानुन व्यवसायीलाई पठाएर आफू पछि भैरहवा पुगेका हुन् ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले आइतबार जिल्ला अदालत रुपन्देहीमा मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको कारण उनी बयानका लागि मंगलबार गएका हुन् ।
सुप्रिम सहकारीमा संगठित रुपमा ठगी भएको ठहर जिल्ला सरकारी वकिल कार्यालयले गरेको छ । उक्त प्रकरणमा वकिल कार्यालयले लामिछानेसहित ४२ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध व्यक्तिगत दुई करोड र सामूहिक दुई करोड गरी ४ करोड रुपैयाँ बढी बिगो माग गरिएको छ । लामिछानेको नाममा गएको दुई करोड रुपैयाँको भौचर समेत प्रहरीले बरामद गरेको छ ।
उक्त रकममध्ये चार लाख सेवाशुल्क कटाएर एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंक खातामा जम्मा भएको छ । २०७७ चैत १८ मा उक्त ऋण स्वीकृत भएको देखिएको छ । यसअघि २८ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । पछि पुरक निवेदनका आधारमा थप छानबिन भएको हो र सुप्रिम सहकारीका एक हजार आठ सय ३१ बचतकर्ताले ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँको हिनामिना भएको बताइएको छ ।